विद्यार्थीलाई केराको पालमा कोदाको सेल, दुनामा कागुनाको खिर

विद्यार्थीलाई केराको पालमा कोदाको सेल, दुनामा कागुनाको खिर

गण्डकी । लहरै बसेर केदाको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थीहरू । उक्त दृश्यले हाम्रा समाजमा पहिले पहिले हुने गरेका भोज भतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे । कृषिप्रतिको अनिच्छासँगै खेत बारीहरू बाँझो हुँदैगएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ । फाट्टफुट्ट कोदाको खेती देखिने गरेपनि कागुनो त लभगभ हराइसकेको छ । परम्परागतरुपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन ।

यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी दहरास्थित लिला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीको परिकारका खाजा खुवाइयो । पुम्दीभुम्दी कृषि सहकारी संस्था र करागे कृषि समूहद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीको परिकारका खाजा खुवाएर त्यसबारे जानकारी गराउनाका साथै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो ।

खेतबारी बाँझो हुँदै गएका अवस्थामा पोषक तत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खिरसहित केरा र आलुको अचारको खाजा खुवाइएको करांगे कृषक समुहका अध्यक्ष श्यामलाल पोखरेलले बताउनुभयो । “पछिल्ला वर्षमा गाउँघर तिर खेतबारी बाँझै छन्, कोदो, कागुनोस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ ।”

पहिले पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रुपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइँमा पर्न थालेको छ । विभिन्न रोग प्रतिरोधात्मक क्षमता रहेको कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गए पनि बजारमा माग बढ्दो रहेको पोखरा महाशाखा कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । कोदाकोे खेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रुपमा देखिएको छ । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकोमा ती प्रजाति लोप हुँदै गएका छन् ।

मधुमेहलगायत अन्य रोगका बिरामीले पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्न मध्येको कोदाको रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदो खेतीलाई अघि बढाउन सकेमा यसले बाँझो रहेका जग्गामा खेती गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न सकिने उहाँको भनाइ थियो । विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।

कागुनो पुराना अन्न बालीमध्येमा पर्दछ । नेपाली समाजमा यसलाई काउनो पनि भन्ने गरिन्छ । नेपालका विभिन्न स्थानमा प्राचीन कालदेखि हुँदै आएको यो खेती अहिले भने लगभग लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालका कर्णाली क्षेत्रका साथै रामेछाप, काभ्रे, गोरखा, लमजुङ्ग, कास्की, धादिङजस्ता जिल्लामा फाट्टफुट्ट यो खेती गर्ने गरिए पनि अहिले भने लगभग हराइसकेको कृषकहरूले बताए । पहाडी भेगमा त यसलाई अनिकाल टार्ने अन्नको रूपमा समेत लिने गरिन्थ्यो । असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुनसक्ने भएकोले कोदोलाई अनिकालको अन्न भन्ने गरिएको हो । कागुनोको भात, खीर, ढिँडो बनाएर खाने चलनका साथै कोदोसँग मिसाएर रक्सी बनाउन सकिने यो बाली बाँझो रहेका जग्गामा लगाउन सके स्थानीयवासीकोे आयआर्जन बढाउन सकिन्थ्यो ।

कृषिप्रतिको अनिच्छासँगै रैथाने बालीको महत्व बुझ्न र बुझाउन नसक्दा कोदो, कागुनोजस्ता रैथाने बालीहरू सङ्कटमा परेको पुम्दीभुम्दी कृषक समूहका अध्यक्ष खेमराज बरालले बताउनुभयो । “हाम्रा बाँझो रहेका जग्गामा यी रैथाने बालीलाई अघि बढाउन सकेमा यसले उत्पादनसँगै आम्दानी बढाउन सकिन्छ”, उहाँले भन्नुभयो । कृषिलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताउनु हुने पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल स्थानीयवासीको जागरुकता भएमा वडाका तर्फबाट हुनसक्ने सबै किसिमका सहयोगमा आफूहरू प्रतिबद्ध भएको बताउनुभयो ।

उक्त विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले विद्यार्थीमार्फत रैथाने बालीको संरक्षणमा घरघरमा सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो । अर्का शिक्षक प्रितम देबकोटाले बाँझो रहेका जग्गामा खेती गर्न सकेमा परनिर्भरता हट्दै आत्मनिर्भरता बढ्ने धारणा व्यक्त गर्नुभयोे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्