केही समयअघि इङ्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो । त्यतिबेला वेम्बलीमा कीर्तिमानी ८७ हजारभन्दा धेरै दर्शक उपस्थित भएका थिए । युरोपको युरोपियन च्याम्पियनसिपजस्तै दक्षिण एसियाको साफमा महिला च्याम्पियनसिपमा पनि आज नेपालले बंगलादेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पनि नेपाली फुटबलका लागि इङ्ल्यान्डको वेम्बलीजस्तै हो । र, संयोग त्यही दशरथ रंगशालामा नेपाली महिला टोलीले पनि पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ ।
त्यसकारण त नेपाली महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पनि युरोपियन च्याम्पियनसिपको फाइनलमा जस्तै दर्शकको अपेक्षा गरेका छन् । उनले बारम्बार भनेका छन्, ‘‘काठमाडौंमा फुटबलको माहोल फरक छ । दशरथ रंगशालाको वातावरण फरक हुनेगर्छ । र, त्यही उत्साहजन वातावरणमा हामी रमाउन चाहन्छौं । खेलाडीलाई दर्शकको साथले इनर्जी दिन्छ । र, हामी दर्शकलाई ट्रफी दिन्छौं ।’’
नेपालले सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । र आज बंगलादेशविरुद्ध खेल्दै छ । भारतविरुद्धको खेलमा साढे ७ हजार दर्शक रंगशालामा उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए । फाइनलमा त्योभन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।
नेपालले फाइनल खेल्न लागेको यो नै पहिलोपटक भने होइन । यसअघि पनि चार पटक उपाधिका लागि प्रतिस्पर्धा गरिसकेको छ । तर, सधैँ नेपालको बाधक भारत बनेको थियो । तर, यसपटक भारतलाई नेपालले सेमिफाइनलमै पाखा लगाइसकेको छ । भारतले यसअघिका सबै संस्करणको उपाधि जितेको थियो । त्यसकारण यसपटक प्रतियोगिताले नयाँ विजेता पाउने पक्का छ ।
बंगलादेशको पनि यो पहिलो फाइनल होइन । २०१६ मा पनि बंगलादेशले फाइनल खेलेको थियो । बंगलादेश पनि फाइनलमा भारतसँगै पराजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग अहिलेसम्म पराजित भएको छैन ।
साफमा नेपाल र बंगलादेश यसअघि तीनपटक आमनेसामने भएका छन् । २०१० र २०१९ मा नेपाल समान ३–० को नतिजामा विजयी भएको थियो । २०१४ मा भने नेपाल १–० ले विजयी भएको थियो । साफमा नेपाल अहिलेसम्म बंगलादेशसँग हारेको छैन । त्यो लयलाई नेपाल फाइनलमा पनि निरन्तरता दिन चाहन्छ ।