संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : मुख्यमन्त्री राई

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानले सबै प्रकारका विभेद् र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

उहाँले संविधान दिवस–२०७९ का अवसरमा आज जारी गर्नु भएको शुभकामना सन्देशमा आजको यो ऐतिहासिक दिनले हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने अपेक्षासमेत गर्नुभएको छ ।

मुख्यमन्त्री राईले शुभकामना सन्देशमा नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्था हुनुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालको संविधान–२०७२ जारी भएपश्चात् दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएर यतिखेर हामी दोस्रो कार्यकालको निर्वाचनको सङ्घारमा छौँ भन्दै लोकतन्त्रको प्राणवायु मानिने निर्वाचन आवधिकरूपमा सम्पन्न भएर लोकतन्त्र थप मजबुत हुन पुगेको उल्लेख गर्नुभएको छ ।

संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको भन्दै उहाँले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको विकल्पमा विकेन्द्रीकृत र सङ्घात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो संविधानको महत्वपूर्ण उपलब्धि रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्