बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताउनुभयो ।

ती क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उहाँले लगानीको अभावमा ती क्षेत्र धारासयी बन्न नहुने उल्लेख गर्नुभयो । अर्थमन्त्री शर्माले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले ग्रामीण अर्थतन्त्रको विकास नगरिकन मुलुक आर्थिक रुपमा सबल बन्न नसक्ने स्पष्ट पार्नुभयो ।

हालको नीतिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिइए पनि त्यसैबाट घर जग्गामा लगानी हुने अवस्था देखिएको भन्दै उहाँले यस्ता विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ । औद्योगिक र उत्पादनमूलक क्षेत्रलाई दुई प्रतिशत कम ब्याजमा ऋण दिनुपर्छ ।”

आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएको लामो समय भएपनि प्रभावकारी नीति, कार्यक्रम र योजना बनाउन नसकेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोषको काम पैसा सङ्कलन गर्ने मात्रै होइन । अन्य क्षेत्रमा पनि लगानीका लागि काम गर्नुस् । ”

मुलुकको अर्थतन्त्रले आन्तरिक, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको गभर्नरको भनाइ छ । कार्यक्रममा कोषका अध्यक्षसमेत रहनुभएका राजस्व सचिव रामेश्वर दङ्गालले कोषलाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्