मोरङमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता

मोरङमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मङ्गलबारबाट सुरू भएको हो । खेलमा नेपालसहित भारत र बङ्गलादेशका एक सय २० खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा रु चार लाख ६० हजार राशि पुरस्कार रहेको साथै अन्तर्राष्टियस्तरको प्रतियोगिता पूर्वमा पहिलोपटक आयोजना गरिएको हो ।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले खेलको उद्घाटन गर्नुभएको थियो । उहाँले यस क्षेत्रको विकास, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्नुहुँदै कमै मात्रामा हुने यस प्रकारका खेलमा बालबालिकालाई समेत सहभागी गराउनसके उनीहरूको बौद्विक विकास हुने बताउनुभयो ।

प्रतियोगिता सुइस लिगअन्तर्गत नौ राउण्डमा हुने साथै नेपालको चेस खेलको विकास र खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ ।

यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार तथा चौथो हुनेले रु ३० हजारसहित ट्रफी हात पार्ने उल्लेख गरिएको छ । खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिनुका साथै त्यो राशि रु पाँच हजारभन्दा माथि राखिएको खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले बताउनुभयो । खेल आगामी ८ गतेसम्म सञ्चालन हुने छ । उद्घाटन कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष देवेन्द्र काफ्लेले गर्नुभएको थियो । मणिराम दाहाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्