इरानमा जारी आन्दोलनका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

इरानमा जारी आन्दोलनका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।

२२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ’अनुचित’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउपछि हिरासतमा मृत्यु भएको थियो । लगभग तीन वर्षमा देशव्यापी तनाब सिर्जना गरेको विरोधप्रदर्शनलाई पछिल्ला केही दशक यता भएका सबैभन्दा ठूला आन्दोलनमध्ये एक आन्दोलनका रूपमा हेरिएको छ ।

‘तानाशाहको मृत्यु’ र ‘महिला, जीवन, स्वतन्त्रता’, प्रदर्शनकारीहरूले अनलाइनमा शेयर गरिएको भिडियोमा चिच्याएको सुन्न सकिन्छ ।

झडपमा मारिएकामध्ये प्रहरी र मिलिसियाका अधिकारीहरू पनि रहेको सरकारी टेलिभिजनले जनाएको छ भने विदेशमा रहेका मानव अधिकारवादी समूहहरूले अझै धेरै व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

एम्नेस्टी इन्टरनेसनल र अन्य मानवअधिकार वादी समूहका अनुसार सुरक्षाकर्मीले भीडमाथि गोली चलाउनुका साथै अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ ।

इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप र इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।

न्युयोर्कदेखि इस्तानबुलसम्म भएको ऐक्यबद्धता प्रदर्शनमा प्रतिध्वनित कडा ड्रेस कोडको विरोधमा केही महिलाहरूले आफ्नो स्कार्फ जलाएका छन् र प्रतीकात्मक रूपमा कपाल काटेका छन्।

तेहरानबाट पक्राउ परेकी मृतक अमिनीको टाउकोमा गम्भीर चोट लागेको भेटिएको अधिकारकर्मीहरूले दावी गरेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्