सुजता लिम्बु
विराटनगर । दशैँ आयो
खाँउला पिउला
कहाँबाट ल्याउला, चोरी ल्याउला
धत्त पापि छुटेर बसौला
जब दशैँको रौनकले झयापै छोप्थ्यो, सानो छँदा साथीभाई मिलेर माथीको लाइनलाई लय हाल्दै खेल्ने गर्दथ्यौ । शरद ऋतुको आगमन सँगै खुल्ला निलो आकाशमा स्वतन्त्र खेल्ने सेतो बादल र बाल्यकालको दशैँ उत्तिकै स्वतन्त्रता हुन्थ्यो । न रोकटोक न काँधमा जिम्मेवारीको गहकिलो भारी हन्थ्यो । केबल रहरका पोकाहरु हुन्थे जसलाई बा आमाले निर्वाद पुरा गरिदिनुहुन्थ्यो । नयाँ लुगा लगाउने होडबाजी, कसको लुगा कस्तो भन्ने खुलदुलीले दशैँको रौनकलाई थप उल्लासमय बनाउथ्यो । अहिले जस्तो टिकटक इन्टरनेटबाट कपडाका डिजाइन छान्ने जवाना थिएन । आमाबाले रोजिदिनुभएको थानका कपडा हुन्थे । जुन दर्जी दाईले रातदिन लगाएर सिलाइदिनुहुन्थयो । त्यो नयाँ लुगामा आफ्नै मौलिक पाराका डिजाइन हुन्थे । सिलाइसकेर ल्याइसके पछि दिनमा तीन पटक ‘ट्राइ’ (लगाउदै फुकाउदै) गर्दाको मज्जा बेग्लै । कहिले दशमी अर्थात टिकाको दिन आउला र नयाँ लुगा लगाएर साथीभाईसँग जमघट गर्दै रमाइलो गर्ने भन्ने दिन गन्तिमा हुँदा त्यो नयाँ लुगा लगाउने दिन आउन कति समय लागे जस्तो महसुस हुन्थ्यो । त्यसमा पनि नयाँ लुगाबाट आउने सुगन्धमा कृतिम अतरको सुगन्ध विर्साउने अर्गानिक वास्नाले दशैँको रौनकमा थप हर्ष उल्लास र त्यसको महत्व झल्किन्थ्यो । वर्षमा एक पटक नयाँ कपडा दशैँमा नै भेटिने भएर पनि होला दशैँका लागि नै भनेर खरिद गरिएको नयाँ कपडाले विशेष महत्व राख्थ्यो । त्यो समय खेल्ने रमाउने अग्रानिक चिजविजहरु थिए । दशैँका गीतहरुमा लय हालेर साथी भाई जमघट गरेर खेल्दाको मज्जा अहिलेको मोबाइल, इन्टरनेट जनमानामा कहाँ भेटिन्छ ?
बाबियोले बाटिएको डोरीको लिंगे पिङ, काठबाट निर्माण गरिएको चर्के पिङ खेल्दाको मज्जा बेग्लै हुन्थ्यो । त्यहाँ प्रकृतिको सुगन्ध र स्वाद भेटिन्थ्यो भने साथीभाई वीचको आत्मियता, निकटता पनि बेग्लै थियो । पछिल्लो समय प्रविधिको विकाससँगै दशै मनाउने शैली फेरीएको छ । वर्षौ देखि छुटेका साथीहरु पिङ खेल्ने बहानामा भए पनि भेट हुन्थ्यो । त्यो भेटमा दुखः सुख एकआपसमा बाँडफाँड हुन्थ्यो । पछिल्लो समय विकासको दौडले धेरै छलाङ मारिसकेको छ । हिजो पाउने अर्गानिक स्वादहरु फेरिएका छन् । मिलाप, आत्मियता प्रविधिसँगै गुमनाम हुन थालेको छ । ‘हुइ सरररररर..... ’ भन्ने आवाज निकाल्दै आकाश छुने वेगमा मचिने लिङ्गे पिङ विस्तारै हराउदै जान थालेका छन् । हिजोका दिन लिङ्गे पिङ थापिने डाँडाकाँडा भत्किएर मटर (गाडी) कुद्न थालेका छन् । खरले छाएको, रातोमाटो र चुनले पोतिएका घरहरु भत्किएर पक्का ईट्टा र सिमेन्टले जोडिएका घरहरु निर्माण भएका छन् । विकासका पाटोलाई सकारात्मक नै लिन सकिन्छ । तर, पक्का घर भित्र सम्बन्धका डोरीहरु कमसल भेटिन थालिएको छ । हिजोका माटो र खरले निर्माण भएका कच्चा घर भित्र बलियो डोरीले बाँधिएको पक्का सम्बन्ध भेटिन्थे । परिवार भित्र एकरुपता, एकता भेटिन्थ्यो ।
दशैँको आगमन सँगै गाँउ नै जुटेर बाटो सफाइ गर्ने, घर आँगन सफाई गर्ने कामले समाजमा एकता र मिलापको भाव अनुभुती गर्न सकिन्थ्यो । घर पोत्न भिजाइएको माटोको सुगन्धमा माटोको अस्तित्व थप पहिचान गर्न सकिन्थ्यो । आजभोलि त्यो प्रकृतिलाई हेर्न महशुस गर्न, नियाल्न निक्कै सकस पर्न थालेको छ । एउटा बन्द कोठाको चारकुनामा बसेर मोबाइलको संसारमा भुल्ने आजका पुस्ताले विगतको जस्तो रमाइलो महसुस गर्न भुलिसकेका छन् । उसो त समयसँगै हामी पनि बदलिएका छौँ, एकैछिन् समय मिल्यो कि घोप्टो परेर समाजिक सञ्जालको जालोमा रनभुल्ल परेर अलमलिएरहेका हुन्छौँ । समयसँगै फेरीएका जीवनशैलीले ति पुराना दिनका मिठो स्वाद भेट्न दन्ते कथा झैँ सुन्न या भन्न मात्रै सकिन्छ । व्यस्त जीवनशैली र फेरीदो रहनसहनले हिजोको त्यो सम्बन्धको सामिप्यता हराउदै गएको छ । जुन दशैँको रौनक, सम्बन्धको महत्व हामीले महसुस गरेका छोँ । त्यो अबका पुस्तालाई महशुस गर्न गराउन सकेनौ भने सम्बन्धसँगै पर्वको महत्व हराउदै जान्छ ।
फोटो:फाइल