मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गर्नु भएको छ ।

उहाँले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उहाँले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको पनि जानकारी दिनु भएको छ ।

सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उहाँको भनाई छ । सम्बोधनका क्रममा उहाँले भन्नुभएको छ, “हामीले फेरी जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौँ ।”

देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उहाँले जोड दिनु भएको छ । निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।

निर्वाचनबाट प्रतिनिधि सभाका दुई सय २२ सदस्य निर्वाचित हुनेछन् । यसअघिको निर्वाचनपछि सन् २०२० सम्म दुई बर्षका लागि महाथिर मोहम्मद प्रधानन्त्री निर्वाचित हुनुभएको थियो । त्यसपछि मुह्यीद्धिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिनु भएको थियो । उहाँको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री सब्रिले सन् २०२१ को अगस्त २१ मा सपथ ग्रहण गर्नु भएको थियो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्