अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीको राजिनामा, कारण यस्तो

अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीको राजिनामा, कारण यस्तो

अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले राजिनामा दिएका छन्।

अष्ट्रेलियामा जारी पुरूष टी–२० विश्वकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा घरेलु टोलीसँग पराजित भएपछि उनले कप्तानीबाट राजिनामा दिएका हुन्।

वर्षाले प्रभावित भएर दुई खेलमा अंक बाढ्नु परे पनि अफगानिस्तानले यो विश्वकपमा खेलेका ३ खेलमा पराजय व्यहोरेको थियो।

समूह १ मा रहेको अफगानिस्तानले पुछारमा रहेर विश्वकपको यात्रा टुंग्याएको छ। मोहम्मद नाबीले गएराति ट्वीट गर्दै कप्तान छोडेको जानकारी दिएका हुन्।

मोहम्मद नाबीले कप्तानीबाट राजिनामा दिँदै उनले केही गम्भीर आरोपसमेत लगाएका छन्। उनले छनोटकर्ताप्रति असन्तुष्टि व्यक्त गरे।

उनले विश्वकपमा आफ्नो टोलीको यात्रा सकिएको भन्दै आफू र आफ्ना समर्थकको अपेक्षा विपरित नतिजा आएको बताए।

‘हाम्रो टी-२० विश्वकप यात्रा समाप्त भयो, जसको नतिजा न हामीले अपेक्षा गरेका थियौं, न त हाम्रा समर्थकहरूले। खेलको नतिजाबाट हामी पनि तपाईँ जस्तै निराश भएका छौं’, उनले भनेका छन्, ‘विगत एक वर्षदेखि हाम्रो टोलीको तयारी कप्तानले चाहेको वा ठूलो प्रतियोगिताका लागि आवश्यक पर्ने स्तरमा थिएन।’

उनले यसबाहेक, पछिल्ला केही भ्रमणमा टोली व्यवस्थापन, चयन समिति र आफू एउटै पृष्ठमा नभएको भन्दै सन्तुलित टोली बनाउन नसकेको बताए।

उनले आफूले कप्तानबाट राजीनामा दिए पनि व्यवस्थापन र मुलुकको आवश्यकता अनुसार  क्रिकेट खेल्ने बताए।

विश्वकपमा अफगानिस्तानले पहिलो खेलमा इंग्ल्याण्डसँग हार ब्यहोरेको थियो। श्रीलंका र अष्ट्रेलियाविरुद्धका अन्तिम दुई खेलमा उत्कृष्ट खेले पनि जित निकाल्न नसक्दा टोली बाहिरिनु परेको थियो।

अफगानिस्तानलाई यसपटक मौसमले पनि साथ दिएन। अफगानिस्तानका दुई खेल वर्षाले प्रभावित पारेको थियो। आयरल्यान्ड र न्युजिल्यान्डसँगको खेल रद्द भएपछि अंक बाढ्नु परेको थियो।

३७ वर्षीय नाबी विश्वकपअघि मात्र अफगानिस्तानको पुनः कप्तानी सम्हालेका थिए। उनको अगाडि राशिद खानलाई कप्तानी दिइएको थियो तर उनले आधा घण्टामै यो जिम्मेवारी छाडेपछि नाबीले सम्हालेका थिए।

नाबीको कप्तानीमा अफगानिस्तानले २३ खेल खेलेको थियो। जसमध्ये १० मा जित र १३ खेलमा हार व्यहोरेको थियो।

नाबी विगतमा पनि अफगानिस्तानको कप्तान भइसकेका थिए। उनले सन् २०१० मा नवरोज मंगलको स्थानमा क्रिकेटको नेतृत्व गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्