मकैले धानेको कालिकाको परिवार…..

मकैले धानेको कालिकाको परिवार…..

सुजता लिम्बु
विराटनगर । कोइला र मकै सँग तीन दशक देखि दरिलो सम्बन्ध छ कालिका चौधरीको । ईटहरी—८ की कालिकाको मकै व्यवसायले श्रीमान सहित ४ जना परिवारको गर्जो टारिरहेको छ ।

ईटहरीको विराटनगर लाइनमा सोमबार दिउँसो भेटिएकी चौधरीले जुनसुकै महिनाको राप र तापसँगै कठांग्रिने चिसोमा सडक किनारमा मकै पोलेर बिक्री गरेको पैसाले घरखर्च टार्ने मात्रै होइन यो व्यवसाय उनको परिवारको भरथेगको माध्यम पनि बनेको छ ।
‘तीस वर्ष देखि यहि ठाँउमा मकै पोल्दै बसेको छु, अरु कमाई छैन यहि व्यवसायले खान पुगेको छ,’ उनी सुनाउछिन्,‘यसले म र श्रीमानसहित ४ जना परिवारको जिम्मेवारी उठाएको छ ।’

चार वर्ष अगाडी कमाउने छोरा सवारी दुर्घटनामा परी मृत्यु भएपछि परिवारको जिम्मेवारीको गहकिलो भारी उनको काँधमा परेको छ । कामबाट फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल छोडेर झापा फर्कदै गरेको गाडीले ठक्कर दिँदा २२ वर्षको छोरा उपचारको क्रममा मृत्यु भएको उनले विगत सम्झदै सुनाइन् ।

‘मेरो छोरा र उसको साथी कामबाट फर्किदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले मोटरसाइकललाई हान्दा छोराको उपचारको क्रममा मृत्यु भयो, छोराको मृत्यु पछि क्षतिपूर्ति ५ लाख पाए तर, सन्तानभन्दा पैसा ठूलो थिएन के गर्नु दैवको खेल यस्तै भयो,’ उनले दुखःको पोको फुकाउदै सुनाइन्,‘ श्रीमानको कमाई छैन, हातमुख त जोड्नै प¥यो त्यसैले मकै बेच्दै गुजारा चलेको छ ।’
उनी आफ्नो व्यवसाय, परिवारको जिम्मेवारीसँगै मंसिर ४ गने हुने निर्वाचनको बारे पनि राम्रोसँग जानकार छिन् ।

चोकको धुलो, मध्य दिँउसो तालु फुट्ने रापिलो घाम, झरि बादल र सितहरुको सामनासँगै परिवारको जिम्मेवारी उठाइरहेकी उनको लागि निर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ झैँ भएको छ । यद्यपी नेताले पुरा गर्न नसकेको प्रतिवद्धताबाट दिक्क बनेकी चौधरी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा स्थानीय निर्वाचनमा झैँ स्वतन्त्र उम्मेदवारलाई मत हाल्ने तरखरमा रहेको बताउछिन् ।
बेलाबखत घरदैलो कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरीको पार्टीको झण्डा फहराइएको गाडी कुद्दै गर्दा उनी मकै पल्टाउदै भन्छिन्,‘जनु पार्टीले जिते पनि हुने केही होइन ।’

सुनसरी क्षेत्र नम्बर ३ जहाँ तेश्रो पटक दुई थारु उम्मेदवारबीच चुनावी मैदानमा प्रतिस्पर्धा हुँदैछ । नेपाली काँग्रेस नेता विजयकुमार गच्छदार र नेकपा एमालेका नेता भगवती चौधरी तेश्रो पटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघिको दुईवटा निर्वाचनमा बाजी मारेको गच्छदार यो निर्वाचनमा पनि जीत्ने दौडमा छन् । यता, हार बेहोर्दै आएकी चौधरी पनि बदला लिने दौडमा लागिरहेकी छिन् ।

त्यसका लागि चौधरी र गच्छदार दुवै उम्मेदवारले कालिका जस्ता साना व्यवसाय गरेर घरगृहस्थ चलायमान गर्दै गरेका धेरै कालिकाहरुको समस्या र समधानको माग र प्रतिवद्धता पुरा गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्