विराटनगरमा शिलन्यास गरिएका संरचना कहिले बन्लान् ?

विराटनगरमा शिलन्यास गरिएका संरचना कहिले बन्लान् ?

विराटनगर । विराटनगरमा आकाशे पुलबाट सडक वारपार गर्ने गराउने योजनासहित यो संरचनाको शिलन्यास गरियो । योजना निर्माण अगाडीको सबै काम सकेर गरिएको शिलन्यास त्यतिमै सिमित हुन पुग्यो । देशका ठूला शहरमा पर्ने विराटनगर महानगरपालिकाको पछिल्लो स्थिति छैठौंस्तरमा छ । त्यहि पनि यहाँको चाप कम भने छैन । प्रदेशको राजधानी भएपछि अझै चाप बढेको छ ।

तर, शहरको सुन्दरता झल्काउने गरि निर्माण सुरु गरिएको संरचना शिलन्यासमा मात्रै सिमित हुँदा विराटनगरको सानमाथि स्थानीय तहको पहल कमजोर रुपमा देखिएको छ । यतिसम्मको बहुवर्षे योजनाको रुपमा अगाडी सारिएका संरचना निर्माण जरुरी नभएको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले त्यसलाई अनावश्यक ठह¥याई दिएका छन् ।
अझै विराटनगरको पहिलो कार्यकालका मेयर भीम पराजुलीले महानगरको थिती बिगारेको भन्दै उनका विरुद्ध दोस्रो कार्यकालमा निर्वाचित मेयर नागेश कोइरालाले स्वेतपत्र नै जारी गरिदिएका छन् । भ्रष्टचार, बेथिती, बेरुजु, जथाभावी नियुक्ति, योजना छनौटको प्राथमिकीकरण गर्न नसकेका जस्ता कुराले भताभुङ्ग पारिएको आरोप स्वेतपत्रमा स्वयम् काग्रेसबाटै निर्वाचित मेयर कोइरालाले पराजुलीलाई लगाएका छन् । देशभरमा अघिल्लो कार्यकालमा भएको बेथिती थिचिएर चट्पटाउन नसक्ने भएपछि नयाँ निर्वाचित जनप्रतिनिधिले स्वेतपत्र जारी गरेर नागरिकलाई जानकारी गराउनु पर्ने अवस्था आएको स्थानीय तहमा विराटनगर मात्रै पर्दछ ।

फेरिएन वीरेन्द्रसभा गृह
विराटनगरको पुरानो संरचनामा वीरेन्द्र सभागृह पर्दछ । यहाँका हरेक कार्यक्रम गर्नुपर्ने स्थान सभागृह हो । जिर्ण भवनमा अहिले कुनै कार्यक्रम भएको छैन । कारण, त्यहाँ मर्मतको काम भईरहेको छ । त्यसको निर्माणका लागि तत्कालिन समयमा लालबाबु पण्डितले सांसद विकास कोषबाट चार करोड बजेट व्यवस्थापन गरेका थिए । तर, तत्कालिन मेयर पराजुलीले सभागृह मर्मतको काम अगाडी नबढाएर रकम फ्रिज पारिदिएका थिए । कार्यकाल सकिन लाग्दा उनले पुनः मेयरमा उठ्न पाउने आसामा मर्मत अगाडी बढाएका छन् । तर, स्रोत अपुग हुँदा सार्थकता पाउनेमा समस्या भएपछि अहिले नागेश कोइरालाले त्यसलाई चासो दिएका छन् ।

फाउन्टेन पार्क
विराटनगर महानगरपालिकामा गोपाल रेग्मीको पालामा निर्माण प्रारम्भ भएको फाउन्टेन पार्क अहिले अलपत्र छ । २०७५ असोजमा तत्कालिन मेयर पराजुलीले शिलन्यास गरेर २०७६ फागुन ५ गते ठेक्का सम्झौताको प्रक्रिया बढाइएको थियो । अहिले संरक्षण नहुँदा वीरेन्द्र सभागृहसँगै रहेको पार्क अलपत्र छ । महानगरको ८५ प्रतिशत र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा पार्कको निर्माण गरिएको थियो ।

पशुबधशाला
विराटनगर–८ मा एक बिघा आठ कट्ठा जग्गा पशुबधशालाका लागि छ । विसं २०६६ बाट निर्माण शुरु गरिएको बधशाला सञ्चालनमा आउने सपना अधुरो छ । प्रदेश सरकारले गत दुई आर्थिक वर्षमा करिब आठ करोड बजेट विनियोजन गरेको थियो । आव २०७५÷७६ मा तीन करोड आसपास बजेट विनियोजन गरिएपनि खर्च नहुँदा फ्रिज बनाइएको थियो । प्रदेश नं १ को तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत पठाइएको बजेट फिर्ता गएको थियो ।

विमानस्थल रोड व्युटिफिकेसन
विराटनगर विमानस्थल रोडमा पूर्व मेयर पराजुलीको होटल समेत छ । त्यो रोडलाई रात्रीकालिन बनाउने उद्देश्यसहित सौन्दर्यकरण सुरु गरिएको थियो । तर, त्यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । त्यहाँ भएका विरुवा काटिएको छ । उजाड बनाएर फलामे संरचना बनाएकोमा आलोचना समेत उतिकै छ । तीन करोड बजेटमा बन्नुपर्ने उक्त सडक २०७९ मा सम्पन्न हुनुपर्ने भएपनि हालसम्म काम बाँकी छ ।

महेन्द्रचौक–ट्राफिकचौकको एमजी रोड
विराटनगर महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणको काम पनि अलपत्र छ । यहाँका व्यवसायीले असहमतिका बीच सुरु गरिएको कामले अहिले ट्राफिक व्यवस्थापनमा समेत समस्या पारेको छ । भारतको सिक्किम घुम्न जाँदा त्यहाँबाट प्रभावित बनेर पराजुलीले यहाँको व्यस्त सडकलाई नै एमजी रोडमा परिणत गर्ने योजना ल्याउँदा त्यसको अवसर चौतर्फी परेको भन्दै आलोचना हुन थालेको छ ।
एक सय ५० मिटर दूरीको सो क्षेत्र लथालिंङ्ग बनेर निर्माण रोकिएको छ । एक करोड ५० लाखभन्दा बढी लागतमा निर्माण शुरु भएको कार्य अलपत्र हुँदा व्यापार व्यवसाय गर्नेहरुलाई पनि समस्या भएको भन्दै गुनासो गरिरहेका छन् ।

सिलान्यास भयो, काम भएन
विराटनगरमा तत्कालिन मेयर पराजुलीले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रुपमा शिलन्यास गरेका कुनैपनि योजना निर्माण हुनसकेका छैनन् । आकोशपुल र भ्यू टावर जस्ता योजना त ‘सिज’ नै भए । अघिल्लो कार्यकालमा बढाइएका योजना राम्रो नभएको भन्दै वर्तमान महानगरका मेयर नागेश कोइरालाले त्यसलाई प्राथमिकतामा नराख्ने बताउँदै आएका छन् ।
२०७७ चैत २ मा पराजुलीले बरगाछीमा एक कार्यक्रमका बीच आकाशे पुलको शिलान्यास गरेका थिए । २ करोड ६० लाख रुपिँयाको उक्त योजना ठेक्का लागेपछि निर्माण रोकिएको थियो । निर्माणका लागि भन्दै २०७६ फागुन १६ मा टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि २०७७ माघ २८ गतेमात्र महानगरले ढिला गरी ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो । घाँसचोक, बरगाछी र कञ्चनबारी र बसपार्कमा चारवटा फलामे संरचनाको आकाशे पुल बनाउने योजना थियो । त्यसमध्ये बसपार्कको एउटा आकाशे पुल प्रदेश सरकारले निर्माण गर्ने भनेको थियो । बाँकी तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेपनि त्यसले सार्थकता नपाएको हो ।

भ्यू टावर शिलान्यासमै सिमित
चारनवर्ष अघि २०७५ कात्तिक २० गते विराटनगरमा १ सय १० मिटर अग्लो भ्यूटावर निर्माण भन्दै शिलन्यास गरिएको थियो । विराटनगर ३ मा एक कठ्ठा ७ धुर क्षेत्रफलमा निर्माण गरिने भनिएको भ्यूटावर त्यसपछि हल्लामै सिमित हुन पुग्यो । दशवर्षे योजना राखेर चार अर्ब खर्चने भन्दै तयार गरिएको गुरुयोजनाको रकम भने त्यसै खेर गयो । पराजुली अहिले प्रदेशसभा सदस्य उमेदवारको रुपमा मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उमेदवार बनेका छन् । उनीपछि महानगरमा निर्वाचित जनप्रतिनिधिले उनको काम गर्ने शैलीको संस्थागत विरोध गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्