ब्राजिलका राष्ट्रपति विदेश पलायन

ब्राजिलका राष्ट्रपति विदेश पलायन

ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन हुनुभएको छ ।

उहाँले आफ्नो चुनावी हार स्वीकार्नुभएको छैन । उहाँले स्थानीय समयअनुसार अपराह्न २ ः०० बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

सिएनएन ब्राजिलले बोल्सोनारोलाई उद्धृत गर्दै भनेको छ, “म उडिरहेको छु, म चाँडै फर्कनेछु ।”

‘एभिएसन ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयर’का अनुसार उहाँको विमान स्थानीय समयअनुसार शनिबार राति ९ बजेपछि ओर्लान्डोमा अवतरण गरेको थियो ।

यसको अर्थ उहाँले आइतबारको सपथ ग्रहण समारोहमा भाग लिनुहुने छैन अर्थात् उहाँले नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई पदभार हस्तान्तरण गर्नुहुने छैन ।

बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनुहुनेछ । आरएनआर टेलिभिजनका अनुसार उहाँको कार्यकालमा उपराष्ट्रपति रहनुभएका ह्यामिल्टन मौराओ अहिले कार्यवाहक राष्ट्रपति रहनुभएको छ र उहाँले शनिबार देशबासीको नाममा सम्बोधन गर्नुहुनेछ ।

बोल्सोनारोको भ्रमणको समय र उद्देश्यबारे एएफपीले सोधेको प्रश्नको जवाफ राष्ट्रपतिले दिनचाहनुभएन ।

यसअघि शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई ‘जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य हुने छैन’ भन्नुभएको थियो ।

उहाँले भन्नुभयो, “हाम्रो भविष्य राम्रो छ । अहिलेलाई युद्ध हारेको जस्तो भएको छ, तर हामी युद्ध हार्ने छैनौं ।”रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्