आहो ! जङ्गे मामा आराम हुनुहन्छ ?
मन्द मुस्कान छोड्दै मुन्टोको इसाराले आराम भएको भाव व्यक्त गरे । अब त जङ्गे मामा पनि बुढो हुनुभएछ । कपाल फुलेर कपास झैँ भएछन्, दाँतका ताँतीले साथ छोडेछ । उनको अनुहारमा देखिने मुस्कान र हाउभाउ पनि धेरै बदलिएछ । गाँउभरका लुगा सिलाएर समयमा घरघर पु¥याउने जङ्गे मामा आफ्नै टालेको स्टकोट फेर्न सकेका थिएनन् । तर, त्यो समय टालेको लुगामा भेटिने ति मामाले स्टकोट मात्रै होइन, दउरासुरुवाल पनि फेर्न भ्याएछन् ।
त्यसो त दशक पछि मामाघरको आँगन टेक्दा जङ्गे मामामा मात्रै होइन् गाँउको स्वरुप फेरिएको पाए । हरियो डाँडा, ठूलाठूला रुखहरु मासेर डोजरे विकास राम्रै भएको रहेछ । सबैको हातहातमा मोबाइल, इन्टरनेट ओहो ! गाँउ खुब परिवर्तन भएछ । हुन त जङ्गे मामाले मलाई पनि कहाँ एकैचोटी ठम्याउन सक्नुभएको हो र ? उनले पनि निक्कै वटा प्रश्न तेस्राउन भ्याए । ठूली दिदिकी छोरी होइनौ तिमि ? लुखुरी थियौ क्यारे, मोटी भएछौ । सानी छँदा देखेको हुँ, नानीकी आमा भएछौ । उनले एकै स्वासमा तन्काएर सोधिएको प्रश्नलाई मैले पनि उनैले जसरी मुस्कनसहित टाउको हल्लाएर नै जवाफ फर्काइदिए । जनयुद्ध भन्दा अगाडी गाँउमा गरिब र धनीबीचको असमानता उत्तिकै थिए ।
जातीयविभेदको खाडल उत्तिकै उदेकलाग्दो थियो । तर, मेरो मामाघरको सिकुवा टेक्नबाट सधैँ बञ्चित हुने जङ्गे मामा मेरो साइला मामासँगै सार लगाएर गफिनु सक्ने भएछन् । उनका लागि छुट्टै हुन्थे बस्ने पिर्का, सिकुवामा बसेर बिडि तान्दै हाते कलले कपडा सिलाइरहेका हुन्थे । ज्यालामा गाँउभरी दशैँ खाने अन्न बटुल्थे । तर, अहिले उनले चलाउने हाते कल नचलाएर हो या गाँउमा फेसन भित्रिएर खिया परेको छ रे । उसो त जङ्गे मामा लिम्बू मुख्यासँगै कुम जुधाएर गफिन त्यति सहजै कहाँ पाएका रहेछन् र ? विभेद, गरिबी र असमानताले गिजोलेको समाजमा परिवर्तन खोज्न जङ्गे मामाकी छोरी दमन्तिले जनयुद्ध ताका पढ्दै गरेको उमेरमा कलम भन्दा बन्दुक नै विकल्पका रुपमा रोजिछन् । एउटी मात्रै छोरी माओवादी लडाकुमा भर्ती हुँदै गर्दा ति मामाको चित्त कहाँ बुझोको थियो र ? सँधै टालेको लुगा, जातिय विभेदले गाँजेको समाजमा सधैँ सिकुवाको बासले मन कुँडिएर अमिलो नभएको पनि कहाँ होर, आफूले भोगेको जातिय विभेद र उत्पीडनका कारण धेरै पटक बदनाम बेहोरेका जङ्गे मामाले देशमा व्यवस्था र अवस्था बदल्न कलिलो छोरी जनयुद्धका लागि सुम्पिदिए ।
शान्ति प्रक्रिया नआएसम्म छोरीको लास र स्वास भेट्छु या भेट्दिन भन्ने दुविधा र द्धन्द्ध उनको मानमा नचलेको पनि होइन् । तर, छोरी मरे सहिद हुन्छे । कम्तिमा समाजमा अछुतो हुन त पर्दैन भन्ने कुराले मन बुझाएर बसेका जङ्गे मामाले जनयुद्ध पछि विभेदको घाउमा थोरै महलम लगाउन पाएर राहत महशुस गरे । आफूले खाएको थाल र गिलास पखालेर साइली मुखिनी यहाँ छ है सामान, भन्दै विदा हुने ति मामालाई माइजु (मेरी साइली माइजु)ले भन्न थालिछिन्,‘ त्यही छोड् जङ्गे गिलास तेरो बहीनिहरुले पखाल्छन् । ’ वर्षौ देखि विभेदले दन्किएको आगोमा पिल्सिएका मामालाई मुखिनीले त्यति भनि मात्रै दिँदा पनि धेरै राहत मिलेको अ नुभूति गर्न सकिन्थ्यो ।
असमानतालाई जराबाटै उखेल्न जनयुद्धमा छोरीलाई बन्दुक बोक्न पठाएको जङ्गे मामाले छोरीले नयाँ कोट त फेरिदिए तर, घरको छानो भने फेर्न सकेका थिएनन् । उनले आफ्नो बुवा बिरामी पर्दा उपचार गर्ने खर्च नहुँदा गाँउका जमिन्दार सुब्बा (लिम्बू) हरुको आँगन टेक्नुपर्ने बाध्यताबाट कहिल्यै पन्छिन सकेनन् । अब त थुप्रै भयो मामा घर (धनकुटा) नपुगको खै, अहिले दमन्ति के गर्दैछिन् ? साइला मुख्यासाँगै कुम जुधाएर गफिन पाउदा मात्रै खुशी हुने जङ्गे मामा के गर्दै होलान ? बाउ बिरामी हुँदा खर्चका लागि लिएको सापटी पैसा तिरे की व्याज बेहोरी रहेका छन् ? मामाघर पुगिहाले जङ्गे मामालई सोध न मन छ । मामा, व्यवस्था बदल्न छोरी जनयुद्धमा पठाउनुभएको थियो जनयुद्धको सुप्रिम कमाण्डर अहिले प्रधानमन्त्री छन् नि ! चिन्नु हुन्छ ?