क्षमता रोक्न आचार्यमाथि अंकुश प्रयास

क्षमता रोक्न आचार्यमाथि अंकुश प्रयास

विराटनगर । प्रदेश १ को सरकारमा मन्त्री सिफारिस गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) भित्र एउटा बहस पैसा भयो । मोरङ ६ (१) बाट निर्वाचित प्रदेशसभा सांसद जीवन आचार्यलाई मन्त्री बनाउने कि नबनाउने विषय केन्द्रमा प¥यो ।

कमजोर सांगठानिक संरचना भएको क्षेत्रबाट उस्तै मतदाताले मतदान गरेर निर्वाचित भएपनि उनी मन्त्री हुन अयोग्य भएको बहसले विवादको रुप लियो । त्यसो हुनुमा माओवादी आन्दोलनको सबैभन्दा कठिन क्षण जनयुद्धमा सहभागी भएर आएकालाई प्राथमिकता दिने कि पछिल्लो पुस्तालाई प्राथमिकता दिने भन्ने थियो ।

त्यसको केन्द्रमा थिए आचार्य । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको ज्वाँई भएकै कारण विवादको केन्द्र जीवन आचार्यलाई बनाइएको स्पष्ट देखिन्थ्यो । तर, उनी अघिल्लो पटकको निर्वाचनमा समेत त्यहि क्षेत्रका मतदातासँग मत मागेर पराजित भएको भुलिएको थियो । बारम्बार एउटै व्यक्तिले उहि मतदातासँग मत माग्दा पाएको विश्वासले उनी यस पटक मन्त्री हुन चाहेका थिए ।
उनले आफू मन्त्री पदमा नियुक्त भएपछि सामाजिक सञ्जालमा एउटा कुरा सार्वजनिक गरेका छन् र आलोचनातर्फ इंगित गर्दै भनेका छन्, ‘मलाई गफ गरेर समय बर्बादी गर्ने छुट छैन साथी, ०५२ सालमा जन्मेको बच्चा अब नेता हुने चरणमा छ तिनलाई मार्गनिर्देश गर्नुछ, ६२–६३ को जनआन्दोलन ताका जन्मेको बच्चा अहिले युवा छ, ति सबैका लागि सोच्नुछ, हामी सँगै राजनीतिमा आकर्षित गराउनुछ, राजनीति केवल फोहोरी खेल होईन भन्ने बुझाउनुछ, सहिद वेपत्ता परिवारको सुखदुःखमा सामेल हुनुछ, घाइतेको घाऊमा मल्हम लगाउनुछ र अन्ततः विकास र समृद्धि को यात्रा तय गर्नुछ ।’

राजनीतिक सुझबुझलाई दर्शाउँदै उनले लेखेको स्टाटसले उनी केहि गर्ने ईच्छाशक्तिसहित मन्त्री हुन चाहेको देखाउँछ । उमेरले प्रदेश १ प्रदेशसभाको सबैभन्दा कान्छो अर्थात् ३७ पुरा पुगेर ३८ वर्षमा हिंडिरहेका उनले डबल डिग्री हासिल गरेका छन् । शैक्षिक योग्यतामा भन्ने हो भने प्रदेश १ प्रदेशसभामा पनि उनी कमै पढेलेखेका सांसदमध्ये पर्दछन् ।

जन्मिएकै बेला २०४२ सालमा खोटाङ बुइपाबाट मोरङको बुढीगंगा झरेका आचार्य परिवार हाल पनि बुढीगंगा ५ मै बसोबास गरिरहेका छन् । साविक हात्तीमढा ९ बाटै हुर्कने, पढ्न सुरु गरेका उनले २०५७ सालमा सरस्वती मावि दुहबीबाट एसएलसी गरेका हुन् । त्यसपछि उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट आइकम गरे भने अर्थशास्त्रमा बिए गरे । उनले राजनीतिशास्त्र, र अर्थशास्त्र विषय लिएर केन्द्रीय क्याम्पस किर्तिपुरबाट एमए गरेका छन् ।

२०६८ साल माघ १८ गते प्रचण्डकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरेका थिए । त्यस अगाडीसम्म उनी यस देशको योग्य नागरिक बनिसकेका थिए । तर, अहिले उनलाई प्रचण्डको ज्वाँईको रुपमा परिभाषित गर्दा उनको व्यक्तिगत जीवन बुझ्न नसकेको देखिन्छ ।

२०५८ सालमा महेन्द्र मोरङ क्याम्पसमा अध्ययनकै क्रममा काँग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी २०६०–०६१ सालदेखि भने अखिल क्रान्तिकारीमा आबद्ध भएको बताउँछन् । स्नातकोत्तर अध्ययनका लागि राजधानी काठमाडौं गएपछि भने उनी ०६२÷०६३ सालको जनआन्दोलनमा सहभागी भए । ०६४ सालको पहिलो संविधानसभाको निर्वाचन पश्चात उनी माओवादी निकट गणतान्त्रिक मञ्चमा आबद्ध भए । त्यससँगै काठमाडौं जिल्लाको जिल्ला सदस्य, जिल्ला सचिवालय सदस्य हुँदै २०७४ सालमा प्रदेशसभा सदस्यको उम्मेद्वार बनेका थिए । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा प्रदेश सदस्य बनेका उनी उक्त पार्टी विभाजनसँगै प्रतिगमन विरुद्धको आन्दोलनमा सहभागी भए । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट ४० वर्ष मुनिका युवालाई प्रतिनिधित्व गराउने भन्दै छुट्याएको २० प्रतिशत कोटाबाट उनी केन्द्रीय सदस्य बनेका छन् । २०७९ साल मंसिरको निर्वाचनमा नेपाली काँग्रेससहितको गठबन्धनबाट उम्मेद्वार बनेका उनी विजयी बनेसँगै २०७९ पुस २९ गते मन्त्री नियुक्त भएका छन् । मन्त्री नियुक्त भएपनि उनको मन्त्रालय टुंगो भने लागेको छैन ।

मन्त्री भएपछि पनि घरमै बस्न चाहन्छन् तर सुरक्षा संयन्त्र तयार छैन
बिना विभागिय मन्त्री भएका आचार्य अहिले आफ्नै घरमा छन् । उनले मन्त्री भएपछि पनि घरमै बसेर काम गर्न चाहेको सुनाए । तर, सुरक्षाको कारण देखाउँदै त्यहाँ बस्न नमिल्ने बताएपछि उनले के गर्ने भन्ने सल्लाह गरिरहेको बताएका छन् । मलाई घरबाटै काम गर्ने ईच्छा छ, तर सेक्यूरिटीले हुन्न भनेपछि के गरौं भन्ने सोचाईमा परिरहेको छु । उनले आफूलाई कुनै चिजको लोभ नभएको र संघीय सरकारसँग समन्वय गरेर प्रदेशमा केहि न केहि गरेर देखाउने ईच्छा रहेको सुनाए । उपयुक्त जिम्मेवारी पाए भने प्रदेशका लागि केहि न केहि गरेर देखाउँछु, आचार्यले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्