पर्यटन क्षेत्रको विकासका लागि ठूला आयोजनामा ध्यान केन्द्रीत गर्छु:आचार्य

पर्यटन क्षेत्रको विकासका लागि ठूला आयोजनामा ध्यान केन्द्रीत गर्छु:आचार्य

विराटनगर । पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेश १ को पर्यटन विकासमा ठूला आयोजनामा ध्यान दिने बताएका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिने क्रममा मन्त्री आचार्यले प्रदेशको विकासमा पर्यटन क्षेत्रको योगदानलाई स्थापीत गर्ने दावी गरेका हुन् ।

पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयले ‘मेघा प्रोजेक्ट’ र प्रदेश गौरवका आयोजना बनाएर अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । पर्यटकहरुलाई ल्याउन पर्यटकीय स्थलहरुको निर्माण अनिवार्य रहेको भन्दै उनले केही ठूला पर्यटकीय केन्द्रको अवधारणामा काम गरिने बताए ।

राज्यले शिक्षा, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको पनि उनले बताए । प्रदेश सरकारले बनाउने पर्यटनका योजनाका लागि बजेट माग गर्न आफूले पुलको काम गर्ने भन्दै नयाँ योजना निर्माणमा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।
पर्यटन क्षेत्रको विकास सरकारी पहलबाट मात्र सम्भव नरहेको भन्दै उनले निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । ‘प्रदेश पर्यटन विकास बोर्ड र निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्दै काम गर्न म तयार छु ।’

वन क्षेत्रको विकास र सदुपयोग सँगै बहुमूल्य जडिबुटीहरुको उत्पादन, प्रशोधन र निर्यातको क्षेत्रमा पनि प्रदेश सरकारले योजनाबद्ध ढंगबाट काम अगाडि बढाउनु पर्ने मन्त्री आचार्यले बताए । उनले भने ‘संघीय सरकार काम गर्न तयार भएर आएको छ र हामी पनि यहाँ काम गर्नै भनेर आएका छौं, त्यसैले यो प्रदेश संरचना आवश्यक छ भने प्रमाणित गर्ने गरी सबै मिलेर काम गरौं, हामी सबै परिवारका सदस्य भएर यो प्रदेशको विकासका निमित्त इमान्दार भएर लागिपरौं ।’

मन्त्री आचार्यले सुशासन र भष्टाचार न्यूनीकरण आजको आवश्यकता भएको भन्दै कर्मचारी र राजनीतिज्ञ दुवै तर्फ सुद्धिकरण गर्न जरूरी भएको पनि बताए । कर्मचारीहरुको समस्याहरुका बारेमा आफूलाई थोरबहुत जानकारी रहेको भन्दै उनले कर्मचारीहरुको वृत्ति विकास र सेवा सुविधाका लागि सदैव सकारात्मक रहने भन्दै त्यसका लागि कर्मचारीले पनि क्षमता प्रदर्शन गरेर काम गर्नु पर्ने बताए ।
परिचय कार्यक्रममा मन्त्रालयका सचिव संजीव राईले वन तथा वातावरण मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम, संगठनात्मक संरचना, समस्या र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराए । यस्तै साविकको पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेश न्यौपानेले पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकारले सञ्चालन गरिरहेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्व उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले शासन प्रणाली र कर्मचारी प्रशासन आदिका विषयमा जानकार रहेकोले मन्त्रालयले आगामी दिनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताए । उनले सबै कर्मचारीले मन्त्रीलाई इमान्दारिताका साथ सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्