काठमाडौँ । युथ इन्नोभेसन ल्याबले युरोपेली संघको आर्थिक सहयोगमा वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको छ।
मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा लक्षित यस ४ वर्षे परियोजना पहिलो वर्ष मधेस प्रदेशमा कार्यान्वयन भएको थियो । पहिलो वर्षमा एक हजार ९ सय ५५ युवाहरुको संलग्नता भएको थियो। साथै दुई सय ४ सरकारी प्रतिनिधि र अधिकारीहरूलाई विपद् पोर्टल, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनमा उन्मुख गरिएको थियो।
अत्यावश्यक पूर्वाधारहरुको संकलन र संकटासन्नता तथा क्षमता विश्लेषणको क्रममा तीन हजार १ सय ६७ जना समुदाय सदस्यहरू र १८ स्थानीय क्षेत्रीय विशेषज्ञहरूलाई सल्लाहकारको रूपमा संलग्न गरिएको थियो।
परियोजनाको पहिलो वर्षका प्रगति, उत्कृष्ट अभ्यास, चुनौतिहरूका साथै मुख्य सिकाइहरुको समीक्षा गर्न कार्यक्रम विभिन्न मन्त्रालय, प्रदेशका प्रतिनिधि, पालिकाहरुका प्रमुखहरुका साथै सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा आयोजना गरिएको थियो।
परियोजनाको क्लाइमेट फेलोसिप कम्पोनेन्टमार्फत गृह तथा सञ्चार मन्त्रालय, मधेस प्रदेश, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका, प्रसौनी गाउँपालिका, सुवर्ण गाउँपालिका, गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, हरिपुर नगरपालिका, ईश्वरपुर नगरपालिका र लोहारपट्टी नगरपालिका गरी ९ पालिकामा १० जना क्लाइमेट फेलोहरु खटिएका थिए।
पाँच महिनाका लागि तैनाथ भएका क्लाइमेट फेलोहरूले विपद् पोर्टलको स्थानीयकरण, महत्त्वपूर्ण पूर्वाधारहरूको एक हजार २ सय २२ वटा तथ्यांक संकलन गरि विपद् पोर्टलमा एकीकृत गरेका थिए।
साथै, पालिका र वडाका प्रतिनिधिहरूसँगको समन्वयमा क्लाइमेट फेलोहरुले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माणमा पालिकालाई सहयोग गरेका थिए। त्यसैगरी क्लाइमेट स्मार्ट उद्यमशीलतामार्फत २० जनाले आफ्नो नवीन व्यवसायको योजना छनौट भई सम्बन्धित सल्लाहकारसँग मिलेर आफ्नो व्यवसाय विकास गर्ने मौका पाएका थिए।