काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
रास्वपाका अध्यक्ष रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका हुन् ।
रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी समेत दिएका थिए। अध्यक्ष लामिछानेले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।
पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको सर्मथन आफूहरुले फिर्ता लिने अवस्थामा पुग्नु भएको रास्वपा नेताको भनाइ छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका थिए।
प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।