तपाँईको विचारमा महिलावाद के हो ?
कहिले बाट आफुलाई महिलावादी भएको अनुभुती भएको थियो ?
यी दुई प्रश्नबाट परिचचयको सुरुवात भएको थियो । पन्धजना सहभागिका आ–आफ्ना जीवनका अनुभूति जोडिएका थिए, महिलावादी हुनुमा । परिचयको सत्रमा सबैजनाले बिगत सम्झिए । तीतो बिगत ! सम्झन मन नलाग्ने बिगत आलो बन्यो, कार्यक्रममा । हामीमध्ये धेरैजना आफ्नो घरपरिवारका सदस्य, सहकर्मी र नजिकका आफन्तबाट यौनजन्य हिंसाको शिकार भएका रहेछौै । हिंसा भएकै समयमा भने प्रतिकार गर्न र कसैलाई सुनाउन नसकेका समान वेदना थिए ।
कसैका घरपरिवार भित्रै भएका वर्गीय विभेद र चरम शोषणको कारणले बोल्न थालेका अनुभव पनि थिए । त्यसैगरि राजनीतिमा महिलालाई कसरी पाखा लगाइन्छ र आवाज निस्तेज पारिन्छ भन्ने भोगाईले स्तब्ध बनायो । महिलावादी स्रोत केन्द्र को ५ वर्षे रणनीति योजना निर्माण कार्यक्रममा प्रदेश १ का इलाम, झापा, मोरङ्ग, सुनसरी, भोजपुर र उदयपुर जिल्लाका महिलाहरुको उपस्थिती रहेको थियो । सामाजिक, राजनैतिक र संचार क्षेत्रमा महिलाको सवालमा प्रत्यक्ष, परोक्ष रुपमा कार्यरत महिलाहरुले सामूहिक रुपमा उक्त रणनीतिक योजना निर्माण गरेका थियौ ।
पन्ध्रप्रकारका घटनाको १५ वटै कथा र इतिहास थियो । त्सस समूहमा पढेका, आफ्ना कुरा राख्न सक्ने वर्गकै सहभागी थियौं । तथापी, महिला भएर आफुले भोगेका तमाम घटना घरपरिवारबाट बाहिर ल्याउन सक्ने वा बोल्ने साहस भने कसैसंग रहेको पाएनौं । यसले के स्पष्ट पार्छ भने मलाइ हिंसा भयो भनेर बोल्नु साहस हो । जो कोहीसँग यस प्रकारको हिम्मत हुदैन । यो शिलशिला महिलाबाटै मात्र हुनुपर्छ भन्ने छैन । पुरुष र महिलाद्धय खुलेर बोल्ने वातावरण निर्माण गर्न हिंसालाइ महिलाको मात्र सवाल हो भन्ने निरपेक्ष ब्याख्या हुनु हुदैन ।
सामान्यतया तिमी महिलावादी हो कि हैन ? कसरी महिलावादी भयौ ? किन महिलाको विषयमा बोल्न थाल्यौ ? काम गर्ने दौरानमा प्रश्नहरु कहिलेकाँही महिला सहकर्मीहरुबाट भन्दा अक्सर पुरुष सहकर्मीबाट आउँछ । जवाफ ठ्याक्कै यहि नै हो भन्ने हँुदैन । प्रश्नको निरपेक्षताले भने अधिकांशलाइ महिलावाद भनेको महिलाले बोल्ने, महिलाको बारेमा लेखिने र महिलासँग मात्र सम्बन्धित विषय हो भन्ने लाग्छ । तर, कुनै पनि विषयमा महिलाको पक्षधरता लिएर वकालत गर्नु, महिला सहभागिता, अर्थूुर्ण महिला सहभागिताको पैरवी गर्नु, महिलाको स्वतन्त्र पहिचान, शरीर माथिको आफ्नो नियन्त्रण र महिलाले गर्ने श्रमको आर्थिक र सामाजिक गणनाको विषयमा निरन्तर बोल्नु र लेख्नु नै महिलावाद हो । चाहे महिला बोलुन् या त पुरुष दुबै महिलावादी हुन् ।
महिलावादी आन्दोलन विभिन्न “वेभ” छिचोल्दै चौथो चरण सम्म आइपुगेकोछ । सन् १८४८–१९२० सम्मको समयावधी लाई महिलावादी आन्दोलनको पहिलो “वेभ” अन्तर्गत राखिन्छ । पहिलो “वेभ” मा पुरुष सरहको समान अधिकारका कुरा संगै मतदानको अधिकारका सवालमा आवाज उठेको थियो । त्यसैगरि दोस्रो “वेभ” सन् १९६३– १९८० को समयलाई मानिन्छ । यस अवधिमा विशेष गरि अमेरिकाका महिलावादीहरुले महिलाको परमपरागत भुमिका माथि प्रश्न गरे र उक्त भुमिकामा परिवर्तनको खाँचो टड्कारो रहेको औंल्याउदै प्रजनन् अधिकारको समेत वकालत गरे । अमेरिकाकामा भएको महिलावादी आन्दोलन “ह्वाइट फेमनिष्ट”प्रधान भएको र उनिहरुले “ब्ल्याक फेमनिष्ट”को विविधतालाइ सम्वोधन गर्न नसकेको सवाललाई आलोचनात्मक रुपमा उठान पनि गरेको पाइन्छ यस समयमा । तेस्रो “वेभ” सन् १९९० को दशकलाई मानिन्छ । सुधारवादी धार भन्दा माथि उठेर विद्रोही चेतका साथ यौनिकता र महिलाको स्वतन्त्र अस्तित्वको बारेमा बहस ल्यायो । यस समयमा महिलावादी आन्दोलनले लैगिंक समानताको मात्र कुरा गरेर समावेशिता र महिला भित्र पनि अन्तरविधिधता÷अन्तरवर्गीयताको सवाल उठान घनिभुत रुपमा गर्र्यो । त्यसैगरि चौथो “वेभ” हालको समयलाई लिन सकिन्छ । इन्टरनेतको क्रान्ति संगै महिलावादी आन्दोलनको स्वरुपमा पनि परिर्तन आयो । सन् २०१७ मा आएको “मी टू” अभियान यसको एउटा बलियो उदाहरण हो । त्यसैगरि चौथो “वेभ”संरचनागत रुपमा हिंसालाइ पक्षपोषण गर्ने प्रणालीप्रति लक्षित भयो र सबै प्रकारका बिभेद (लैंिगक, जातीय, वर्गीय) आदि अन्त्यको लागि यो अभियानले समावेशीताप्रतिको संरचनागत “लुपहोल” को समेत अन्त्य हुनुपर्ने विषय उठाएको छ भन्दा अत्योक्ति नहोला ।
माघ १४, २०७९ मा “बिर्सिइएका मिलेभाहरु” भन्ने आलेख कान्तिपुर दैनिकमा छापिएको छ । उक्त आलेखमा “मिलेभा” जो भौतीकशास्त्र पढिरहेका “आइन्स्टाइन”को ब्याचकी एक्लि महिला थिइन् । पछि उनीहरुले विवाह पनि गरेको उल्लखेख छ । अध्ययन, खोज र अनुसन्धानका क्रममा संयुक्त रुपमा गरेका कामहरुमा “आइन्स्टाइन” ले “मिलेभा” को नाम कतै उल्लेख नगरेको विषय लेखिएको छ । अध्ययन, पेशा र पारिवारिक जीवनमा “मिलेभा” ले गरेको योगदानको अवमुल्यन गरिएको र त्यस वरिपरिको पुरुष राजनितीको विश्लेषण गरिएकोछ ।
यसरी महिलाहरुलाइ इतिहासबाट छायाँमा पारिएको हाम्रै मुलुकमा पनि धेरै उदाहरणहरु छन् । कति लिपिवद्ध भए । कति यतिकै समयको गर्भमै रहिरहे । हाम्रो देशका महिलाहरुले “मिलेभा” बन्नु नपरोस् भन्ने एक प्रयास हो, महिलावादी स«ोत केन्द्र । जसको माध्यमबाट महिलाको अनुभव, संघर्ष र योगदानको अध्ययन तथा विश्लेषण गरि महिलावादी ज्ञान निर्माण हुनेछ । महिलावादी ज्ञान व्यवस्थापन तथा पहुँच योग्य संप्रेषण हुनेछ । त्यसैगरि महिलावादी दर्शनमा स्पष्टता सहित अन्र्तपुस्ता नेतृत्व विकासमा सहजिकरण हुनेछ ।
वि.स.१९९४ ताका जेलमा रहेका राजबन्दी टंकप्रसाद आचार्य, रामहरी शर्मा, धर्मभक्त माथेमा, दशरथ चन्द लाई चाँजोपााजो मिलाउने काममा रेवन्त कुमारी आचार्य, सीतादेवि शर्मा, राममाया पोडे लगायतका महिलाहरुको मुख्य भुमिका थियो । यसमध्ये राममाया पोडे शौचालय सफा गर्ने मजदुरका रुपमा कार्यरत रहेकी थिइन् । उनी राजबन्दीले लेखेका र तिनलाई लेखिएका पत्रहरु भित्रबाहिर लैजाने र ल्याउने काम गर्थिन् । (बिन्दा पाण्डेको धर्तिमाथिको दाबी) । यो त एउटा उदाहरण हो । नेपालको राजनैतिक तथा सामाजिक आन्दोलनका विभिन्न चरणमा महिलारुको योगदान रहेको कति मान्न तयार होलान् कति नहोलान् । उक्त आन्दोलनामा कति महिलाले प्रत्यक्ष मोर्चामा भाग लिएर सहभागिता जनाए होला । कतिले नेपथ्यमा बसेर । कतिले घरधन्दाको काम गरेर, छोराछोरी लालनपालन गरेर घरका पुरुषहरु बहिर निस्कन सक्ने वातावरण तयार गरे होला । यी विभिन्न भूमिका आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । कुनै पनि भूमिकालाई कम आँक्नु इतिहासप्रतिको बेइमानी हुन जान्छ ।
खास गरि विभिन्न कालखण्डमा महिलाले गरेका संघर्ष र योगदानलाई महिलावादी कोणबाट संकलन, विश्लेषण निर्माण र संप्रेषण गर्ने सवालमा काम गर्ने उद्देश्य महिलावादी स«ोत केन्द्रले राखेको छ । यसले सामाजिक न्यायको पक्षमा भएका रुपान्तरणमुखी आन्दोलनको महिलावादी विश्लेषण सहित अभिलेखन र विस्तार गर्नेछ । साथै अलिखित, दबिएका र उत्खनन् नभएका र धेरै महिलाहरुको जीवन लेख्ने साझा थलो यस संस्थाको परिकल्पना हो ।