सीपले आत्मानिर्भर मोरङका महिला उद्यमी

सीपले आत्मानिर्भर मोरङका महिला उद्यमी

सुजता लिम्बु
विराटनगर । कुनै समय घरको चौघेराबाट पाइला झिक्न धेरै सोच्न पर्ने थियो । अवसर र आर्थिक रुपमा कमजोर थिए महिला । तर, पछिल्लो समय अवसरसँगै आर्थिक पक्षमा पकड जनाउँदै गएपछि महिलाहरु आफ्नै सीपमा प्रतिस्प्रर्धी बन्दै उद्यमीको हैसियत बनाउन सफल भएका छन् ।

महिलाहरु राजनीतिक, शैक्षिक, औद्योगिक, व्यवसायिक क्षेत्रमा सक्रियरुपमा देखिन थालेका छन् । परिवारप्रतिको माया, साथ, एउटा महिलाले चालेको कदमप्रति परिवारले बनाउने धारणा र सामाजिक दृष्टिकोणले व्यवस्थापकीय पक्षलाई थप गहन बनाउँदो हो । त्यसो त अक्सर महिलाहरुलाई गृहमन्त्रीको ओहोदामा राख्ने गरिन्छ । गृहमन्त्रीको ट्याग पाएका महिलालाई गृह व्यवस्थापनसँगै व्यवसायिक पाटोलाई सन्तुलित ढंगबाट अगाडी बढाउन चुनौतीपूर्ण यात्रा भएपनि निरन्तरता र मेहेनतले क्रमशःअगाडी बढ्दै गएका हुन् ।

घरपरिवारसँगै आफ्नो व्यवसायिक यात्रालाई अगाडी बढाई रहेकी प्रमिला डंगोल (आले) वीन च्याप्टर मोरङ सदस्य हुन् । विराटनगर–७ शहिद मार्गमा रहेको प्रमिला हस्तकाला सञ्चालक समेत हुन् । उनी १७ वर्ष अगाडी देखि यो पेशामा आवद्ध छिन् । एकल महिला त्यसमा पनि समाजले बनाउने तिता मिठा धारणाहरसँग जुध्दै आफ्नो व्यवसायिक यात्रामा निरन्तर अगाडी बढी रहेकी प्रमिलाका लागि घर गृहस्थ सँगै आफ्नो पेसालाई एउटा लयमा लिएर हिँड्न सहज भने छैन । तर, चुनौतीमा अवसर खोज्ने उनको फरक सोचले पनि आफूलाई यो पेसामा बलियो स्थान दिन सकेको उनको बुझाई छ । त्यसो त संस्थालाई घरेलु र नगरपालिकामा दर्ता गरेर संस्थागत नगरेसम्म उनको कलालाई नजिकबाट चिन्ने मान्छे नभएको अनुभवहरु छन् । जब, संस्थालाई दर्ता गरिन्, त्यसदिनदेखि यता धेरैले उनको हातले बनाइएका सामानहरुलाई नजिकबाट चिन्न थालेका छन् । ‘मैले संस्थालाई दर्ता गरेर सञ्चालनमा ल्याएको करिब १० महिना भयो, दर्ता बिना १७ वर्ष काम गरे । त्यतिन्जेल ग्राहक सिमित थिए,’उनले भनिन्, जब संस्थागत रुपमा अगाडी बढे त्यसपछि ग्राहक पनि सम्पर्कमा बढ्न थाले । उनी आफूले बनाएका सामाग्रीहरु नेपालका विभिन्न जिल्लादेखि विदेशी मुलुकसम्म निर्यात गर्छिन् । उलनबाट तयार हुने सामाग्रीहरु विक्री वितरण गर्ने गर्दछिन् ।

उन चिसो मौसममा मात्रै प्रयोग हुने हुँदा यसलाई सदाबहार बनाउनका निमित्त उनबाट किरिङ, कोठा डेकोरेशनका सामानहरु बनाउने गर्दछिन् । ‘ऊनबाट बनाइएको सामाग्रीहरु चिसो मौसममा मात्रै प्रयोग र वितरण गर्न सकिने भएकाले यसलाई जुनसुकै समय प्रयोग गर्नका लागि अन्य कन्सेप्टमा गएकी छु,’उनले सुनाइन् ‘कोठामा सझाउने सामाग्रीहरु, चावी झण्ड्याउने किरिङहरु बनाउन थालेकी छु ।’ उनले उलनबाट बनाइने विविध सामाग्री कारोनाका समय घरैमा बसेर सिकेको बताइन् । युनिसेफमा २०५४ सालमा काम गर्दै धेरै अनुभव संगालेको उनले २४ वर्ष कपडामा मात्रै सुन्दर चित्र भरिन ।

उनले कपडामा विभिन्न आकार कोरेर रङ मात्रै भरिनन् आफ्नो व्यक्तिगत जीवनसँगै अरु महिलाको जीवनमा पनि आत्मनिर्भर बन्ने हौसलाको रङ भर्ने काम गरिन । अर्थात उनले अरुलाई पनि तालिम दिँदै आउने गरेकी छिन् । अहिले उनको संस्थामा ५ जना महिलालाई आफै तालिम दिएर रोजगार दिएकी छिन् । एउटा महिला सफल र सक्षम हुन परिवारको दर्बिलो साथ हुन जरुरी रहेको बताउने उनी आफ्नो लगनशिलता महत्वपूर्ण पाटो रहेको उनको बुझाई छ । दुई वर्ष कोभिडले सिथिल बनाएको व्यवसाय अहिले सामन्य अवस्थामा फर्किएसँगै उनको यो व्यवसायले पुरानो लय पकड्ेको उनले बताइन् । यो पेसाले मिहेनतका साथ काम गर्न सके हप्तादिनमा दशहजार सम्म कमाइ गर्न सकिने उनको भनाई छ ।

बुढीगंगा २ मा रहेको अञ्जना व्याग सेन्टर तथा सिलाई कटाई प्रशिक्षण केन्द्रकी सञ्चालक अञ्जु राई बस्नेत पनि एक सफल उद्यमी हुन् । हाते कल हुँदै सिलाई कटाईबाट व्यवसायिक यात्रा आरम्भ गरेकी उनले अहिले ६ जना महिलालाई आफ्नै कम्पनीमा रोजगारी दिएकी छिन् । अञ्जुले ढाका, अल्लोबाट ब्याग, पर्स, झोला, एप्रोन लगायतका सामाग्रीहरु उत्पादन गरेर विक्री वितरण गर्दै आइरहकी छिन् । दुईदशक देखि यो यात्रामा अनवरत हिँडिरहेकी अञ्जु आफैले तयार पारेर उत्पादन गरेको सामाग्री विक्री वितरण गर्न थालेको १२ बर्ष पुगेको छ । ‘सुरुवातका दिनहरुमा निक्कै गाह्रो थियो, हाते कलबाट सुरु गरेको अहिले विभिन्न अनुदानले अलिक सहज भएको छ ,’उनले सुनाइन्, ‘सुरुमा दुईजनाबाट सुरु गरेको अहिले ६ जनालाई रोजगार दिएको छु, कोही घरैबाट काम गर्नुहुन्छ कोही यहीँ आएर काम गर्नुहुन्छ ।’ उनले आफ्नो ब्राण्डलाई धनकुटा, संखुवासभा, मोरङका विभिन्न स्थान र काठमाण्डौसम्म पु¥याउने गरेकी छिन् । व्यवसायमा सफलता प्राप्त गर्नु आफू के गर्ने भन्ने विषयमा पहिले धारणा तयार पार्नु जरुरी रहेको बताउछिन् । काम गर्ने मान्छेको मन, लगनशिलता र निरन्तरता महत्वपूर्ण पाटो रहेको बताउदै उनी भन्छिन्,‘ आफूले उत्पादन गरेको सामान विक्रि हुन्छ, त्यसलाई ब्राण्ड बनाउन सक्नुपर्छ ।’ परिवारको हौसला, साथले पनि काममा केन्द्रिकृत हुने वातावर मिल्ने उनको बुझाई छ। कोभिडको समय व्यवसाय धरापमा परेको भए पनि त्यसलाई व्यवस्थापन गर्न महिलादिदिबहिनीहरुलाई समेटेर मास्क उत्पादन गरेकाले खासै आर्थिक अभाव बेहोर्नु नपरेको उनको अनुभव छ । कोभिड महामारी समान्य अवस्थामा आएदेखि यता व्यवसाय आफ्नै लयमा फर्किदै गरेको समेत उनले सुनाइन् । सीप सिके जुनबेला पनि काम लाग्न सक्ने र आफूलाई आर्थिकरुपमा सवल बनाउन प्रेरणा मिल्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्