काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
९५ वर्षका जबराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।
जबराका ज्वाई तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।
जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुनुहुन्थ्यो । उहाँ हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्थ्यो । १४ वर्षमा मेट्रिक पास गरेका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो । राजा महेन्द्र शाहले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उहाँ २९ वर्षको मात्रै हुनुहुन्थ्यो ।
प्रजातन्त्रको चेतका कारण राणा परिवारमा जन्मिए पनि उहाँ राणाविरोधी आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । जबराको नेतृत्वमा राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रमा उथलपुथल नै ल्याएको थियो । नेपालमा भारतीय नोटको प्रचलनलाई हटाउनेदेखि अरु वित्तीय सुधारका कामहरु पनि उहाँकै पालामा भएको थियो ।
जबराले संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आउनु भएको थियो ।