सप्तकोशीको किनार कुर्नु रहर भन्दा पनि बाध्यता

<span class='c1'>सप्तकोशीको किनार कुर्नु रहर</span> <span class='c2'>भन्दा पनि बाध्यता</span>

विराटनगर । वर्खामा तान्डव मच्याएर वारीपारी कुर्लिदै बग्ने सप्तकोशी नदी यतिबेला सुनसान छ । मानौ कसैको पर्खाइमा वारीपारी आँखा डुलाएर आफ्नै वेगमा बगिरहेको छ । यो नदीले पनि केही सपनाहरु टुटेर, छुटेर पहाड छिचोल्दै फुटेको हुनुपर्छ । त्यसैले त वर्षौँ देखि जीवनभर आफ्नै लय हालेर बगिरहेको हुन्छ । त्यसो त यो नदीको पनि मौसम नै पिछे आफ्नै कथा र व्यथा छ ।

नदीको कथासँग जोडिएको किनारको एकछेवैमा उभिएर एक वृद्ध डुङ्गा चढ्न आउने यात्रुको पर्खाइमा आँखा यताउता घुमाइरहेको भेटिए ।

उनको र सप्तकोशी नदीको साइनो अहिले देखिको मात्रै होइन । ऋषिमल्ला माझिको ४ दशक देखि नदीमा बहने पानीको प्रत्येक बुँद सँग साइनो जोडिएको छ । कहिले उर्लिदो भेलमा नदीले बगाएर ल्याएको दाउरा तान्ने बाहानाले त कहिले माछा मार्ने बाहानाले उनी पानीसँग नाता जोड्न पुगेकै हुन्छन् । नदीले बस्तीलाई सास्ती मात्रै दिएको छैन । छाक टार्ने माध्यम पनि बनाइदिएको छ ।

वर्खाको समयमा पहाडबाट बाढीले बगाएर ल्याएको मुडाहरु नदीबाट तानेर किनार लगाउदै बेच्ने गर्छन । जसले ऋषि जस्ता धेरैको घरमा चुल्हो बल्ने राम्रो माध्यम बनेको छ। अनि हिँउदमा माछा मारेर घर खर्च चलाउने गरेका छन् । ‘यो नदीलाई पनि कहाँ सुख छ र ? वर्खामा हामी बाढीले बगाएर ल्याएको मुडा तन्न आँउछौँ, हिँउदमा यसरी नै माछा मार्न नदीमा आँउछौ ।’उनी सुनाउछन्,‘ दाउरा र माछा नै बिक्रि गर्छौँ यसैले घर खर्च चलिरहेको छ।’ सप्तकोशी नदीमा डुङ्गा चढ्न रहर गर्ने यात्रुहरुलाई केही छिन् नदी घुमाउछन् ।त्यसको वापत पनि उनीहरु पारिश्रमिक लिन्छन् । एकजना बराबर सय रुपैँया । त्यसो त नदी माथि हेलिरहेको डुङ्गामा परिवारको भोक जोहो गर्नेहरु किनारमा थुप्रै भेटिन्छन् ।

त्यही किनारमा भेटिएका ३६ वर्षिय दिलमल्ला माझि वर्षौ विदेशी भूमिमा पसिना बेचेर पुनः नेपाल फर्किए । अब उनलाई नेपाल छोडेर अर्काको देश जाने कत्ति पनि रहर छैन । त्यही सप्तकोशी नदीमा उनले परिवारको भविष्य र सपना कुँदेका छन् । उनी भन्छन्,‘थुप्रै वर्ष विदेश बसेर आए, अब नेपालमा नै बस्ने हो । यहीँ बाउबाजेले गरेको काम गर्ने हो ।’ मौका पर्दा माछा परिहाले दैनिक हजारसम्म कमाइ हुने बताउने उनी कहिलेकाहीँ रित्तै घर फर्किनुपर्ने अवस्था पनि आउने बताउछन् ।

उनीहरु फत्तेपुरबाट कोशी किनारमा टेन्ट टाँगेर नै बस्ने गर्छन् । उनीहरुको आ-आफ्नै समूह छ । परिवारभित्र कै सदस्य कोही एउटा गुङ्गा चलाउने अर्को माछा मार्ने त्यहीबाट आएको पैसा भाग लगाएर घर खर्च चलाउने गरेको उनीहरु सुनाउछन् ।

कोशी ब्यारेजको छेवैको किनार कुरेर बस्नु ऋषि र दिलमल्लाहरु जस्ताको रहर भन्दा पनि घरगृहस्थ चलाउनै पर्ने बाध्यता रहेको उनीहरु सुनाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्