प्रदेश १ प्रदेशसभा : सांसद कार्कीको ढ्याप-ढ्यापे समय ठिक थियो ?

प्रदेश १ प्रदेशसभा : सांसद कार्कीको ढ्याप-ढ्यापे समय ठिक थियो ?

विराटनगर । सोमबार दिँउसो नेपाली काँग्रेसका सांसद एवम् पूर्व कानुनमन्त्री केदार कार्कीले प्रदेशसभा बैठक चल्दै गर्दा टेबल ढ्याप-ढ्याप गरे । जुन समय सभामुख बाबुराम गौतमले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउदै थिए । कार्कीले मागेको ढ्याप-ढ्यापे समय प्रति सभामुख गौतम नै अनविज्ञ बने । तर,पनि उनलाई सभामुख गौतमले बोल्ने अवसर दिए । त्यसो त प्रदेश १ मा प्रदेशसभाको छौटौँ बैठक सम्पन्न भइसक्दा पनि सांसदहरुले शून्य समय लिएर बोल्ने अवसर पाएका छैनन् ।

मंगलबार अर्थात् सातौँ बैठकमा पनि सांसदहरुले शुन्य समय पाउने सम्भावना देखिदैन । सातौँ बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको ।

मंसिर ४ गते सम्पन्न निर्वाचन पछि गठन भएको प्रदेशसभाको पहिलो बैठक पुष १७ गते भएको थियो । पहिलो बैठकमा पनि सांसदहरुले बोल्ने अवसरबाट चुकेका थिए । अर्थात् उनीहरुले शून्य समय पाएनन्।

पहिलो बैठक देखि नै केही सांसदहरुलेआफ्नो भनाईहरु राख्न नपाएकोमा रुष्ट थिए । त्यही अनुसार आज (सोमबार) पनि प्रदेशसभा बैठकमा सांसदहरुले शून्य समयमा आफ्नो भनाई राख्ने अपेक्षासहित प्रदेशसभा हलभित्र प्रवेश गरे । तर, प्रदेशसभा बस्नु अघि बसेको दलहरुको संयुक्त बैठकमा कार्यव्यवस्था परामर्श समिति नै नबनेको भन्दै नेकपा एमालेले समिति गठन भएपछि मात्रै सांसदहरुलाई बोल्ने दिनुपर्ने बताएको थियो ।

काँग्रेस सांसद कार्कीको आक्रोस

केदार कार्कीले सभामुख समक्ष ढ्याप-ढ्यापे समय माग गर्दै आफ्नो भनाई राख्नेक्रममा सुरुवातमा नै शुन्य समयमा बोल्न नदिनु ‘सेटिङ’ भएको आरोप लगाए । उनले प्रदेशसभामा नयाँ सांसद निर्वाचित भएको तीन महिना पुग्न लाग्दा पनि निर्वाचनको क्रममा जनतासँग गरेको वाचा अनुसार जनसरोकारका विषय संसदमा सांसदहरुले उठाउन नपाएको बताउदै कार्कीले भने, ‘संसद सेटिङ जस्तो गरेर शून्य समय नै हटाएर सांसदले आफ्नो अभिव्यक्ति राखेर जनतासम्म पुर्याउन नसक्नु सेटिङ जस्तो देखिएको छ ।’ उनले कुनै बेला जिल्ला विकास समितिको सर्वदलीय बैठक चलाए जस्तो गरेर शून्य समय हटाइको भन्दै सर्वदलीय बैठकको नाममा संसदलाई बोल्नै नदिइकन यस्तो गर्नु नुहनेमा जोड दिए । उनले लामो समयपछि चलाएको संसद ८ मिनेटमै सकिनु लाजमर्दो कुरा रहेको समेत उल्लेख गरे ।

दलहरुबीच सहमित भएरै शुन्य समय नरोखको : सभामुख गौतम

दलहरुबीच सहमति भएरै शून्य समय सोमबारको बैठकमा नराखिएको सभामखु गौतमले बताए । उनले अगामी दिनमा शुन्य समय राख्ने बताउदै भने,’ उहाँहरुले बोल्न पाउनु हुन्छ,’ गौतमले भने । यता, सांसद कार्कीले हावादारीमा टेबल ढ्यापढ्याप पारेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आरोप लगाए । उनले हावादारीमा टेबल ढ्यापढ्याप गरेको बताउदै कार्यव्यवस्था परामर्श समिति आज बनेको बताए । उनले अब शून्य समय भएन भने कुरा उठाउँदा ठिक हुने बताउदै अहिले समय कति दिने भन्ने विषय नै नटुंगिएको कारण त्यस्तो भएको उल्लेख गरे । राजभण्डारीले भने, ‘माननीयले हिरो बन्न यसो गरेजस्तो लाग्यो ।’

काँग्रेस संसदीय दलका नेता उद्धव थापाले आफ्नै माननीयको बुझाइमा कमजोरीभएको आरोप लगाए । उनले दोस्रो चरणको प्रदेशसभाले आफ्ना अंगहरुलाई पूणर्ता दिने काममै लागिरहेको बताउदै भने,‘ कार्यव्यवस्था परामर्श समिति नबनेसम्म नबोल्दा हुन्छ भन्ने हिसावले सबै दलबीच सहमति भएको हो,’ उनले अहिले संसदले विशेष कार्यक्रमहरु मात्रै गरिरहेको बताउदै विशेष समय र शून्य समय उपयुक्त नहुने बताए । उनले भने, अब भोलीबाट विशेष र शून्य समय हुन्छ ।’ संसदीय पत्रकार मञ्चका अध्यक्ष पत्रकार गणेश लम्सालले सांसद कार्कीले प्रयोग गरिएको ढ्याप-ढ्यापे समय नियममा नभएको नजिर बसाएको बताए । उनले नियममा नै नभएको कुरालाई सहि भन्न निमिल्ने बताउदै भने,’नियममा नभएको नजिर बसाउनुभयो ।’

प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन स्वीकृत

८ मिनेटमा सकिएको बैठकमा यसअघि प्रदेशसभामा प्रस्तुत प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश प्रदेशसभाले स्वीकृत गरेको छ ।

यस्तै प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । जसमा आन्तरिक मामिला तथा कानूनमन्त्री तथा उपसभामुख पदेन सदस्य रहने छन् । मनोनित सदस्यहरूमा अम्बरबहादुर विष्ट, नारायण बहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भुपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदी रहेका छन् । यस्तैे बैठकले प्रदेशसभा संचालन तथा व्यवस्थापनका लागि नयाँ नियमावली मस्यौदा निर्माण गर्नका लागि पनि समिति गठन भएको छ । समितिमा कमलप्रसाद जबेगु, केदार कार्की, गीता तिम्सिना, गोम्बु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, यशोदा कायस्थ, रामवेद यादव, लिलाबल्लभ अधिकारी र शोभा चेम्जोङ रहेका छन् । उक्त समितिले आफ्नो संयोजक छनौट गर्दै आगामी ३० दिनभित्र नियमावलीको मस्यौदा प्रदेशसभामा बुझाउनु पर्ने कार्यादेश दिइएको छ ।

प्रदेशसभाको अर्को बैठक मंगलबार बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्