गैंडाको खाग चोरी शिकारी समात्न सिआईबीको ‘रुट टु रुट’ अपरेशन

गैंडाको खाग चोरी शिकारी समात्न सिआईबीको ‘रुट टु रुट’ अपरेशन

विराटनगर । गैंडाको चोरी शिकारीमा संलग्न एउटा गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिइएको छ । विशेष सुचनाका आधारमा ‘अपरेशन ‘रुट टु रुट’ मार्फत गैंडाको खाग विक्रीमा संलग्नसहित शिकारीहरुलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँके निवासी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ, विरमान बाइबा छन् ।

सीआईबीले चितवनबाट राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । १९ पुसमा प्रहरीले काठमाडौं–७, सरस्वतीनगरमा गैंडाको खाग किनबेच हुन लागेको सूचना पाएपछि अप्रेशन सुरु गरेको थियो । त्यहाँ टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

त्यसबेला उनीहरुलाई खागसहित डिभिजन वन कार्यालय, हात्तिसार बुझाएर अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृती सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग विक्री गर्न पठाएको खुलेको छ ।

गैंडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको छ । त्यसपछि सम्झना भनिने कमला तामाङलाई खाग विक्री गर्न दिएको पाइएको र कमलाले काठमाडौं लैजान वीरमानसहितको सहयोग लिएको देखिएको छ । चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौंसम्म खाग बोकेर आएको र २० लाख रुपैयाँमा विक्री गर्ने योजना बनाईएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्