धनकुटा । लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धन कार्यक्रम प्रभावित भएको छ ।
विसं २०१८ मा धनकुटा नगरपालिका–१० पारिपात्लेमा कृषि अनुसनधान केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई २०५२ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो ।
तर अनुसन्धानका लागि आवश्यक कुल ३७ दरबन्दी मध्ये २९ जना रिक्त हुँदा केन्द्रको सबै अनुसन्धानका काम प्रभावित भएको कार्यालय प्रमुख उमेश आचार्यले जानकारी दिनुभयो ।
विसं २०७३ मा केही पदपूर्ति गरेर १९ जना कार्यरत रहिआएकोमा त्यसपछिका वर्षहरूमा बाँकी कर्मचारीको आपूर्ति नहुँदा हाल नौ जना कर्मचारीको भरमा कार्यालय चलाउनुपरेको आचार्यले जानकारी दिनुभयो ।
“कर्मचारी पदपूर्तिसम्बन्धी विनियम संशोधन नहुँदा दरबन्दी पूर्ति हुनसकेको छैन, भएका कर्मचारीहरू पनि सरुवा तथा सेवानिवृत्त भएर जाँदा थप पद रिक्त रहेको छ”, उहाँले भन्नुभयो ।
कृषि मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान परिषद्मार्फत सञ्चालित केन्द्रका १३ रिसर्चर अफिसरसहित ३४ प्राविधिकको दरबन्दीमा हाल अनुसन्धानमा दुई प्राविधिक, चार सहायक प्राविधिकसहित चालक, लेखापाल र प्रशासनबाहेक अन्य पद रिक्त रहेको छ ।
पदपूर्ति गर्न सरकारलाई पत्रचार गरे पनि विनियम संशोधन गर्न लोकसेवा आयोग, कानून मन्त्रालय, सामान्य प्रशासन र अर्थ मन्त्रालयसँगको रायहरु निष्कर्षमा पुग्न नसक्दा रिक्त दरबन्दी पूर्तिमा ढिलाइ भइरहेको आचार्यले जानकारी दिनुभयो ।
“प्राविधिक नहुँदा जिल्लाको मात्र हैन देशभरिको अनुसन्धान प्रभावित भएको छ”, आचार्यले भन्नुभयो, “अरु जिल्लाबाट आइदिनुप¥यो भन्छन्, कार्यालयमा बस्नु की फिल्डमा जानु ?”
चार सय रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले हाल सुन्तला, जुनार, कागतीसहित एक सय ५४ जातको अमिलो फलफूलको अनुसन्धान गर्दै आएको छ ।