खपत बढ्न थालेपछि सुनसरी–मोरङका उद्योगमा ‘लाईट लोड’

खपत बढ्न थालेपछि सुनसरी–मोरङका उद्योगमा ‘लाईट लोड’

विराटनगर । गर्मी सुरु भएसँगै ग्राहस्थ खपत बढेपछि सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड’ को समस्यामा परेका छन् । आन्तरिक र आयात बिद्युतले धान्न नसक्दा उद्योगहरुलाई ‘लाईट लोड’ सेड्युल तोकिएको हो ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार तालिकासहितको लोड सेडिङ्ग गर्नुपर्ने स्थिति नभएपनि ठूला उद्योगहरुमा ‘लाईट लोड’ गराउने गरिएको छ । बिहान र साँझ उद्योगहरुलाई दुई घण्टा लाईट लोडमा रहन भनिएको खड्काले जानकारी दिनुभयो ।

उद्योगीले अघोषित लोड सेडिङ्ग हुँदै आएकोले उत्पादनमा समस्या भईरहेको गुनसो गरेका छन् । भारतको कटैयाबाट आपूर्ति हुने बिद्युत तीन महिनायता अवरोध भएपछि करिडोरका ठूला उद्योगलाई समस्या परेको छ ।
बिद्युत आपूर्तिमा समस्या हुँदा त्यसको मार प्लाष्टिक, स्टिल र सिमेन्ट उद्योगमा धेरै पर्ने गरेको छ । करिडोरमा यी तीन प्रकारका उद्योगले धेरै विद्युत खपत गर्ने गरेका छन् । कच्चा प्रशोधनका क्रममा बिद्युत आपूर्ति अकास्मात रोकिए घानीको वस्तु स्क्रापमा परिणत हुने दावी छ ।

लोटस इन्डष्ट्रिजका सञ्चालक एवं उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले बिद्युत अवरोधको कुनै निश्चित समय नहुँदा मार खेप्नु परेको गुनासो गर्नुभयो । प्राधिकरणले बिद्युत अवरोधको एकिन सेड्युल नदिएका कारण चल्दाचल्दै गरेका मेशिन रोकिने अवस्था आएको उद्योगी राठीको भनाई छ । राठीले बिद्युत नियमित हुननसक्ने स्थिति देखिए उत्पादन कटौतीको अवस्थामा जानुपर्ने बताउनुभयो । अहिले एक्कासी बिद्युत जाने क्रम बढेपछि प्लाष्टिकजन्य कच्चा घानीमा लगाउनु अगाडी प्राधिकरणसँग बुझ्नु पर्ने स्थिति आएको राठीको दावी छ ।

प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले दैनिक बिहान र बेलुका ६ द्धण्टासम्म बिद्युत अवरोध खेप्नु परेको गुनासो गर्नुभयो । तर, प्राधिकरणले भने यकिन समय तालिका अनुसारको आपूर्ति प्रणालीमा अवरोध नभएको दावी गरेको छ । मेन्टिङमा आधारित स्टिल उद्योगलाई कच्चा प्रशोधनमा समस्या भईरहेको गुनासो छ । करिडोरका प्रिमियर, पशुपति र स्वस्तिक उद्योग मेल्टिङमा आधारित छन् ।
प्राधिकरणले समय यकिन गरेर बिद्युत कटौती गर्नुपर्ने माग उद्योगीहरुको छ । निश्चित समय तालिका दिए त्यसले उद्योगका उत्पादनदेखि व्यवस्थापनसम्मलाई सहज बनाउने धारणा उद्योगीहरुको छ ।

नेपाल बिद्युत प्राधिकरण दुहबी शाखाका प्रवन्धक राजेश रेग्मीले भारतको कटौयाबाट आईरहेको ११५ मेघावाट बिद्युत तीन महिनायता अवरोध हुने गरेको जानकारी दिनुभयो । यसैका कारण पूर्वका उद्योगमा बिद्युत आपूर्ति समस्या हुन नसकिरहेको रेग्मीको दावी छ । कटैया प्रशारण लाइनमा समस्या भएपछि ढल्केबर–मिर्चेया प्रशारण लाइनबाट २०० मेगावाट बिद्युत पूर्व आईरहेको छ । यसैबाट लाहानले ३०, मिर्चैया ३० र रुपनी २५ मेगावाट खपत हुने गरेको छ । कोसी पूर्व ११५ मेगावाट बिद्युत आउने गरेपनि काबेली जलबिद्युत आयोजनाको उत्पादन खस्किएपछि आपूर्ति प्रणालीमा समस्या थपिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्