क्रसर व्यवसायीलाई कानून सम्मत सहयोग हुन्छ : मन्त्री मोदी

क्रसर व्यवसायीलाई कानून सम्मत सहयोग हुन्छ : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताउनुभएको छ ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको आज यहाँ आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन समारोहमा उहाँले नीति निर्माण र कानून बनाउने सन्दर्भमा आफूले सहजीकरण गर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री मोदीले भन्नुभयो, “क्रसर तथा खानी उद्योगको नवीकरणमा देखिएका समस्या समाधानका लागि सरकार सकारात्मक छ, साथै व्यवसायीलाई पीरमर्का नपरोस् भनेर सरकार सजग छ ।” उहाँले यस क्षेत्रसँग सम्बन्धित कानून निर्माण गर्दा सरोकारवाला सबैसँग छलफल गरिने र सुझाव समेटिने विश्वास दिलाउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले मुलुकको समृद्धि र विकासका लागि लगानीमैत्री वातावरण हुनु प्रमुख विषय रहेको उल्लेख गर्दै कुनै पनि व्यवसायी तथा लगानीकर्तालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यलाई कर तिर्ने र विकास निर्माणका सामग्री उत्पादन गर्न व्यवसाय र लगानीकर्ताका सम्बन्धमा सरकारले कुनै पक्षपात नगरी व्यवहार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष सीताराम न्यौपाने, वरिष्ठ उपाध्यक्ष श्यामराज खड्का, कोषाध्यक्ष यामबहादुुर मल्ललगायतले क्रसर तथा खानी उद्योग मुलुकको विकास निर्माणको मेरुदण्ड भए पनि यस व्यावसायले उचित सहयोग र इज्जत नपाएको गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्