विराटनगर । मोरङको बेलबारी नगरपालिकामा प्रदेश प्रहरी अस्पतालले सेवा सुरु गरेको छ ।
प्रहरी, प्रहरीका परिवार, भूपू प्रहरी र परिवार बिरामी पर्दा उपचार गराउन स्थापना भएको अस्पतालले सेवा सुरु गरेको हो ।
अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डाक्टर सरोज सिंहका अनुसार १५ शैयाको अस्पतालमा आकस्मिक, ओपीडी, ल्याब, एक्स-रे, फार्मेसी सेवा उपलब्ध छ ।
सर्वसाधारणले समेत सेवा लिने सुविधा छ । अस्पतालमा एक जना विशेषज्ञसहित दुईजना मेडिकल अफिसर, प्राविधिक कर्मचारी १० जना र प्रशासनका कर्मचारी छन् ।
अस्पतालले प्रहरी परिवारलाई निःशुल्क र सर्वसाधारणलाई सरकारी मापदण्डअनुसारको शुल्कमा उपचार सेवा दिने गरेको प्रमुख डाक्टर सिंहले जानकारी दिए ।
पाँच कठ्ठा क्षेत्रफलमा २०४० सालमा निर्मित साविक ईलाका प्रहरी कार्यालयमा अस्पताल संचालनमा ल्याईएको हो । प्रहरी कार्यालय अर्को ठाउँ सरेको छ ।