सरकारलाई दर्शक बनाएर निजी उद्योगले तोक्छ धानको मूल्य

सरकारलाई दर्शक बनाएर निजी उद्योगले तोक्छ धानको मूल्य

विराटनगर । किसानले उत्पादन गरेको जुनसुकै कृषिजन्य उपजको बजार र मूल्य निर्धारण गर्ने जिम्मेवारी सरकार हुन्छ । वस्तु उत्पादनपछि त्यसको बजार र मूल्यश्रृंखलासँग जोड्ने काम गर्नुपर्ने सरकार भन्दा अगाडी नै निजी उद्योगले मोरङमा धानको न्यूनतम समर्थन मूल्य ब्याड (बीउ) राख्नु अगावै तोकिदिएको छ ।

किसानले चैते धानको ब्याड धमाधम राख्दैछन् । बेर्ना तयार चैतमा हुन्छ । चैतमा रोपेर असारमा भित्र्याउँछन् । नयाँ धान बाली असार र साउनमा लगाउने छन् र मंसिरमा उठाउँछन् । चैते र असारे धान लगाउनु अगावै उत्पादन खरिद गर्न मोरङको बेलबारी–९ स्थित आरजु राईस मिल प्रा.लि.ले समर्थन मूल्य तोकेर आइतबार किसानलाई अनुबन्धका लागि आह्वान गरेको छ ।

निजीस्तरको उद्योग र किसानबीच अनाज उत्पादनका लागि बेर्ना राख्नु अगावै समर्थन मूल्य घोषणा गर्ने कार्यक्रममा सरकार भने दर्शक बनेरे उपस्थिति भएको थियो । प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नार्कका प्रमुख डा.रामवरण यादव, बेलबारी नगरपालिकाका प्रमुख डिपी राईसहित कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका उपल्लोस्तरका कर्मचारी कार्यक्रममा उपस्थित थिए । उनीहरुले पालैपालो उद्योगले गरेको कार्यको स्वागत गर्दै प्रशंसाले भरिएको भाषण गरेर फर्के । तर, धानको मूल्य कुन समयमा तोकेर किसानलाई प्रोत्साहन भर्ने, मल, बीउको कसरी ग्यारेन्टी गर्ने भन्ने कुरा प्राथमिकतामा राखेनन् ।

‘बजार र मूल्य श्रृंखलामा काम गर्नेस्तरको सहकार्य किसान दाजुभाईसँग हामीले सुरु गरेका हौं’ आरजु राईस मिल प्रा.लि.का कार्यकारी निर्देशक विरेन्द्रबहादुर बस्नेतले मिल परिसरमा आयोजित समर्थन मूल्य घोषणा कार्यक्रममा भने–उत्पादन गरेको धान हामीलाई बिक्री गर्ने ईच्छुक किसानलाई अनुबन्ध हुन आग्रह गर्दछौं । उनले ब्याड राख्नु अगाडी नै किसानलाई धान उत्पादन भएपछि खरिद गर्ने ग्यारेन्टी गरेका थिए ।

आरजु राईस मिलले रामधान लगाउन किसानलाई आग्रह गर्दै असारे बालीको दुई हजार २०० प्रतिक्विन्टल र मंसिरमा तीन हजार २०० प्रतिक्विन्टल मूल्यमा खरिद गर्ने घोषणा गरेको हो । गत मंसिरमा तीन हजार प्रतिक्विन्टलमा एक हजार २०० टन धान खरिद गरेको मिलले आगामी वर्ष एक हजार ३०० क्विन्टल धान खरिद गर्ने घोषणा गरेको छ ।
कार्यकारी निर्देशक बस्नेतका अनुसार आठ सय बिघा क्षेत्रफलमा लगाएको धान खरिद गरेर भण्डारण गरिएको थियो । त्यसको प्रशोधन गरेर अब एक महिनापछि बजारमा पठाउन सुरु गरिने छ । आगामी वर्ष चार हजार बिघा क्षेत्रफलमा उत्पादन भएको धान खरिद गर्ने योजना राखिएको छ । झापा, मोरङ र सुनसरीका किसानले रामधान उत्पादन गरेर मिललाई जानकारी गराए असारमा दुई हजार २०० र मंसिरको ३ हजार २०० प्रतिक्विन्टल मूल्यमा खरिद गर्ने घोषणा गरिएको हो ।

दुईवटा मिलमा लगानी गर्ने योजना
चारवर्ष अगाडी ५० करोड लागतमा २१ हजार टन क्षमताको मिल बेलबारी–९ मा स्थापना गरेको नेपाल कृषि केयरले आगामी मंसिरपछि ५०÷५० हजार टन क्षमताका थप दुई मिलमा लगानी गर्ने भएको छ । आरजु राईस मिल प्रा.लि.का कार्यकारी निर्देशक बस्नेतले झापा, मोरङ र सुनसरीमै अब दुईवटा मिल विस्तार गर्ने योजना राखेर अध्ययन सुरु गरिएको जानकारी दिएका छन् । मंसिरसम्म अध्ययन गरेर त्यसपछि मिल स्थापनाको काम थालिने भएको हो । मिलले नेपालका किसानले उत्पादन गरेको धान मात्रै खरिद गर्नेछ ।

किन रामधान नै खोज्छ मिल ?
मिलले धानको समर्थन मूल्य तोक्न मोरङ, सुनसरी र झापाका किसानको भेला आइतबार गरेको थियो । त्यस अवसरमा अन्य धानमा भन्दा रामधानलाई मात्रै प्राथमिकतामा राखिनुलाई किसानले चासोको रुपमा लिएका थिए । तर, गतवर्ष पहिलो पटक रामधान रोपेका किसानको अनुभवमा यसको खाना नरम र लयालु हुने गरेको दावी छ । बेलबारी–९ का किसान राजकुमार दंगालले रन्जित भन्दा रामधान बढी फल्ने र नरम रहेको बताए ।
रामधान प्रतिकठ्ठा ६ मन –एकमनमा ४० केजी) सम्म उत्पादन हुने दावी अर्का किसान गोबिन्द न्यौपानेको भनाई छ । न्यौपानेले गतवर्ष दुई बिघा क्षेत्रफलमा यहि धान लगाएको सुनाए । साउन २ गते एक बिघा क्षेत्रफलमा रोपेको धान एकसय मन र साउन ५ गते अर्को एक बिघा क्षेत्रफलमा लगाएको धान १२६ मन उत्पादन भएको उनले जानकारी दिए ।
रामधानको जरा धेरै नजाने गरेका कारण यसमा रासायनिक मल अनि न्यून मात्रै प्रयोग गर्दा पनि हुने बुझाई न्यौपानेको छ । रन्जित लगायतका अन्य धानको जरा धेरै जाने भएकोले मल बढी लगाउनु पर्ने स्थिति थियो । तीनवटा बेर्ना रोपेको रामधानको १५ वटा टुसाएर गाँज बनेको र भरिलो वाला लागेको दावी छ । त्यसमा रासायनिक मल अति कम प्रयोग गरिएको अनुभव लिइएको न्यौपानेको भनाई छ ।
प्रदेश १ मा आरजु राईस मिल स्थापनापछि तराईका तीन जिल्लामा भर्खरै प्रचलनमा आएको रामधानलाई मात्रै मिलले प्राथमिकतामा राखेको छ । मोरङमा उत्पादन भएको चामलको बजार भने काठमाण्डौं केन्द्रीत रहेको छ । यो लङग्रेन प्रजातीको धानको चामल खानका लागि मिठोसँगै ४० केजी धानबाट २७ केजीसम्म चामल आउने गरेको छ । रन्जितको २५ केजी मात्रै चालम बस्ने गरेको थियो ।
इन्धनको मूल्य बृद्धि भएर किसानलाई कृषियन्त्र प्रयोगमा लगानी बढेका कारण अग्रिम तोकिएको धानको मूल्यले फाइदा हुन्छ की बेफाइदा भन्ने कुरा यकिन नभएको किसानहरुको बुझाई छ । यद्यपी खेतमा धान काटेपछि रहेको ठूटा चाँडो कुहिने, पराल नरम भएका कारण चौपायाले सहजै खानसक्ने र चामलमा भएको नरमपना र गुलियोपनाले खाना खाँदा स्वादिष्ट हुने अनुभव लिइको किसानहरुले अनुभव सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्