छुर्पी अमेरिका निर्यात हुन थालेपछि विराटनगरस्थित आयोजनामा घट्यो दूधको संकलन

छुर्पी अमेरिका निर्यात हुन थालेपछि विराटनगरस्थित आयोजनामा घट्यो दूधको संकलन

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनामा कच्चा दूधको संकलन घटेको छ । दुग्ध विकास संस्थानअन्तर्गतको दूधको मूल्य कम रहेका कारण किसान निजी डेरी र स्वालम्बी उद्योगतर्फ आकर्षित हुँदा आयोजनामा दूध संकलन घटेको हो ।

दुई वर्ष अघिसम्म दैनिक ४० हजार लिटर दूध प्रशोधन गगथर्दै आएका आयोजनामा सिजनमा पनि प्रशोधन १० हजार लिटर मात्रै संकलन भएको छ । इलामका किसानले छुर्पी उद्योग सञ्चालनमा ल्याएका छन् । त्यस बाहेक निजी डेरीले गाईभैंसीपालक किसानलाई बढी मूल्य दिइरहेका कारण आयोजनामा दूध संकलनमा कमी आएको हो ।

आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार दुई वर्ष अघिसम्म इलामबाट मात्र दैनिक २५ देखि ३० हजार लिटर दूध विराटनगरस्थित आयोजनामा आइपुग्थ्यो। हिजोआज ४ हजार मात्र आइरहेको छ। कुनै समय इलामको बिब्ल्याँटे चिस्यान केन्द्रबाट मात्र ६ हजार लिटर दूध दैनिक संकलन गरिन्थ्यो। हिजोआज ३ सयदेखि ५ सय लिटरमा झरेको छ। त्यस्तै इलामकै तीनघरे चिस्यान केन्द्रबाट पनि दैनिक ६ हजारका ठाउँमा अहिले ६ सय लिटर दूध आइरहेको छ।

निजी क्षेत्रका उद्योगले किसानलाई प्रतिलिटर ८ देखि १३ रुपैयाँ बढी भुक्तानी गरिरहेको छ । संस्थानले औसत प्रतिलिटर ५२ देखि ५५ रुपैयाँमा दूध खरिद गरिरहेको छ। संस्थानले प्रतिफ्याट ६ रुपैयाँ ८१ पैसा र प्रति एसएनएफ (सोलिड नट फ्याट)को ३ रुपैयाँ ६० पैसाको हिसाब गरेर किसानलाई भुक्तानी गर्ने गर्दछ । ‘निजी क्षेत्रले यो दररेटमा टीएस (टोटल सोलिड) र अन्य प्रोत्साहन खर्च पनि जोडेर बढी भुक्तानी गरिरहेको छ।

संस्थानको विराटनगरस्थित आयोजनालाई दैनिक ६० हजार लिटर दूधको खाँचो छ । तर यो खाँचोका ठाउँमा १० हजार लिटर मात्र आइरहेको छ । यसका कारण आयोजनाको पाउडर प्लान्ट महिनामा ४ दिन मात्र चलाइने गरेको छ ।
आयोजनाको पाउडर प्लान्ट २०५२ सालदेखि सञ्चालनमा छ। सुरुमा यसको दैनिक उत्पादन क्षमता ३ टन थियो। प्रदेश नम्बर १ को सरकारको ५ करोड रुपैयाँको अनुदानमा यसको क्षमता विस्तार गरेर ६ टन पुर्‍याइएको छ। तर, महिनामा ४ दिन र त्यो पनि आधा क्षमतामा मात्र पाउडर दूध उत्पादन गर्ने गरिएको छ।

किसानले निजी डेरीतर्फ नै बिक्री बढाए। विशेषतः इलाममा छुर्पी उद्योगका साथ झापाको एनएमसी डेरी र ऋतिका डेरीले दूध खरिद गर्दै आएका छन्। यस वर्षदेखि पोखराको सुजल डेरी पनि इलाम प्रवेश गरेको छ। इलाममा उत्पादन भएको छुर्पी अमेरिका निर्यात हुन थालेपछि मूल्य उच्च छ । किसानले कच्च दूध बिक्री गर्नुभन्दा छुर्पी बनाएर सोझै अमेरिका पठाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्