विराटनगर । मोरङको रंगेली नगरपालिकामा व्यक्तिगत जग्गा बाटोसँग जोड्ने खेलामा नगरपालिका, प्रहरी, मालपोत र नापी कार्यालयको संलग्नता देखिएपछि एक परिवार पीडित बन्नु परेको छ । रंगेली–७ स्थित सोनादेवी रायको नाममा रहेको बाटोसँग जोडिएको जग्गा जानुकादेवी साहको नाममा लैजान पैसाको चलखेल भएको हो ।
सोनादेवीका छोरा अजयकुमार रायका अनुसार साविक रंगेली–२ को कित्ता नम्बर ४७ मा ५ धुर जग्गाको स्वामित्व थियो । हुलाकी सडक विस्तार हुँदा त्यसबाट ३७.५ स्क्वायर फुट जग्गा बाटोले काट्यो । बाटोले काटेर ४७ स्क्वायर फुट जग्गा रायहरुको स्वामित्वमा बचेको थियो । उक्त जग्गाको सँधियार स्व.शंकर साह थिए । उनको निधनपछि श्रीमती जानकीदेवी साहसहित छोराहरु लालबाबु, ओमप्रकाश, रमेशकुमार, अशोककुमार, नरेशकुमारले भोगचलन गर्दै आएका थिए ।
बाटोतर्फ रहेको रायको जग्गा ७५ फिट चौडाई र १० फिट लम्बाईमा छ । उक्त जग्गा हडप्दा साह परिवारको जग्गाको मुख बाटोसँग जोडिने भएपछि रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई रुझाएर हडप्नका लागि इलाका प्रहरी कार्यालय रंगेली समेत संलग्न रहेको आरोप पीडितको छ ।
बाँचेको जग्गाको हाल साविक गर्ने प्रक्रियामा रहेका रायलाई नापी कार्यालयले गल्तीले स्रेस्ता अर्कैको नाममा परेको जानकारी दिइएको थियो । त्यसपछि सच्याउने प्रक्रिया सुरु गर्न खोज्दा साह परिवारको जग्गा बैंकमा धितो राखेको भेटियो । बैंकमा धितो राखेको जग्गा नापी कार्यालयले सच्याउन नसक्ने भएपछि अदालती प्रक्रियामा राय गएका थिए । उनले गत फागुन १२ गते जिल्ला अदालत मोरङमा नापीको हालसाविक निर्णय, राजीनामा लिखत दर्ता बदर, हक कायम गरिपाउँ भन्दै मुद्दा दर्ता गरेका थिए ।
मुद्दा दर्ता भएको भोलिपल्टै फागुन १३ गते शनिबार साह परिवारले सीमा कायम गरेको पर्खाल भत्काएर रायको समेत जग्गामा संरचना बनाएका हुन् । शनिबार गरिएको उक्त कार्यका लागि इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले समेत सहयोग गरेको आरोप छ । पीडित राय परिवारले जग्गा हडपेर संरचना बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । स्थानीय प्रशासनले संरचना निर्माण तत्काल रोक्न निर्देशन दिएको छ । तर, साह परिवारले रंगेलीका मेयर बगडियाको निर्देशन अनुसार भएको काम नरोक्ने भन्दै ट्रष्ट हालेर संरचना बनाएको पीडितले बुधबार पत्रकार सम्मेलनमा गुनासो पोखे ।
जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन अनुसार विवादित जग्गामा संरचना बनाउन इलाका प्रहरी कार्यालय रंगेलीले रोक्नुपर्ने भएपनि अहिले नदेखे झैं गरेको आरोप छ । यति मात्रै नभई यहि जग्गामा विवाद हुँदा गत भदौमा दुवैतर्फबीच हानाहान भएको थियो । साह परिवारले जग्गा हडप्न रायमाथि आक्रमण गरेर घाईते बनाएका थिए । उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय मोरङमा आएको थियो । प्रहरीले दुवैतर्फको मिलापत्र गराउँदै विवादित जग्गा नापजाँच गरेर यकिन नहुँदासम्म कसैले पनि दावी नगर्ने सम्झौता गराएको थियो । तर, इलाका प्रहरी कार्यालय रंगेलीको टोलि भने आफ्नै कमाण्ड कार्यालयको सहमति विपरित पीडितलाई झन् पीडा थप्न पीडकको पक्षमा उभिएको छ । साह परिवारले रायको जग्गा हडप्न जेसीबी लिएर फिल्डमा आउँदा उनीहरुको सुरक्षाका लागि प्रहरीले सुरक्षा दिएको थियो । त्यस बखत पीडित रायलाई चुप लागेर बस्ने, हैन भने पक्रेर मुद्दा चलाउने भन्दै प्रहरीले गाली गरेको पीडितले पत्रकार सम्मेलनमा बताएका छन् ।