पन्ध्रसय कालिज भएको फर्मले ह्याचरीबाट उत्पादन गर्दै चल्ला, मासु र अण्डाको बिक्री खुल्ला

पन्ध्रसय कालिज भएको फर्मले ह्याचरीबाट उत्पादन गर्दै चल्ला, मासु र अण्डाको बिक्री खुल्ला

विराटनगर । दुईवर्ष ब्रोइलर कुखुरा पालन गरेका मोरङको मिक्लाजुङ–६ मधुमल्लाका २८ वर्षीय सन्तोष बोहरालाई तीनवर्ष अगाडी अलिक फरक सोच पलायो । उनलाई विदेश जान मन थिएन । केहि न केहि त गर्नैपर्ने थियो ।

उनी एनएमबी बैंकको जागिर पनि खान्थे । डेल्ली डकुमेन्ट करेक्सन अर्थात् मार्केटिङको काम गर्थे । तर, उनलाई एकाएक नयाँ तरिकाले केहि गर्ने ईच्छा जाग्यो । त्यहि ईच्छा अनुसार हिमालय वाइल्ड लाईफ एग्रो कम्पनी प्रा.लि. दर्ता गरे । र, कालिज पाल्न थाले ।
उनीसँग ६ कठ्ठा जग्गा थियो । घेराबेरा गर्ने र रुख रोप्ने कामका गरे । कालिज फर्म तयार भएपछि उनले १५० वटा कालिजका चल्ला हाले । बेल्जियमबाट आयात भएको अण्डा काठमाण्डौंमा ह्याचरी गराएर उनले चल्ला ल्याएका थिए । यति गर्दा उनको दशलाख रुपिँया लगानी भएको थियो ।

तीनवर्ष अगाडी खोलेको हिमालय वाइल्ड लाईफ एग्रोमा अहिले एक हजार पन्ध्रसय भन्दा बढी कालिज पुगेका छन् । फर्ममा भएका कालिजले अण्डा पार्न थालेपछि उनले पाँच हजार क्षमताको ह्याचरी मेशिन पनि जोडे । गत सिजनका एकहजार ७०० अण्डा ह्याचरीबाट चल्लामा परिणत गरे । उत्पादन भएका केहि चल्ला बिक्री गरे, केहि संख्यामा मरे पनि । बाँकी रहेका अण्डा समेत बिक्री गरे ।
प्रदेश १ मै पहिलो कालिजका चल्ला उत्पादन गर्ने ह्याचरी सन्तोषले नै सञ्चालनमा ल्याएका छन् । फर्ममा भएका धेरै कालिजले अहिले अण्डा दिईरहेका छन् । यो सिजनमा उनले चल्ला उत्पादन गरिरहेका छन् । फर्ममा अहिले एकहजार खानयोग्य कालिज पुगेका छन् । चल्ला, अण्डा र कालिज एउटै फर्ममा उपलब्ध रहेको उनले सुनाए ।

गतवर्ष उनले १५ लाख रुपिँया आम्दानी लिएका थिए । तर, त्यो खर्चमा ठिक्क भयो । अहिले उनका कालिज, चल्ला र अण्डा बिक्री गर्दा ३० लाख रुपिँया आम्दानी हुने अनुमान छ । धेरै संख्यामा रहेका कालिजलाई एकवर्ष चारो (दाना) जोहो गर्न १० लाख रुपिँया खर्च भएको बोहराले सुनाए । एग्रो फर्म सञ्चालनमा आएदेखि अहिलेसम्म उनको ५० लाख लगानी पुगिसकेको छ ।

आमा, बुबा र बहिनीसँगै उनले कालिज फर्मको रेखदेख गर्दै आएका छन् । उनको फर्ममा कालिजका दुई थरी मूल्य छन् । होलसेलमा खरिद गर्नेले दुई हजार ५०० र खुद्रामा खरिद गर्नेले तीन हजार प्रतिगोटामा कालिज पाउने छन् । जोडि खरिद गर्नेका लागि होलसेल चार हजार ५०० र खुद्रा पाँच हजार ५०० छ । उनको फर्ममा चरिरहेका कालिजमध्ये पोथी ९ सय ग्रामदेखि १२०० ग्रामसम्म र भाले १३०० ग्रामदेखि १८०० ग्रामसम्म वजन भएका छन् । माग प्रशस्त रहेकोले अरु कसैले पाल्न सक्दा चल्ला उत्पादन भएको उनले जानकारी दिएका छन् । झापाको काकडभिट्टा, बिर्तामोड, दमक र सुनसरीको इटहरीमा उनले पालेका कालिज होटल तथा रेष्टरेन्टले मगाउन थालेका छन् । दमकको एउटा फ्रेस हाउसले कालिजको मासु नै बिक्री गर्न थालेको छ ।

उनले उत्पादन गरेका चल्ला कृषका लागि ३०० सय रुपिँयादेखि ७०० रुपिँयासम्म प्रतिगोटामा खरिद गर्न पाईने छ । निस्केको तीनदिन भित्र खरिद गर्नेलाई ३०० र २२ दिनपछि खरिद गर्दा ७०० रुपिँया पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्