विराटनगरको आईसिपीमा एकसाथ तीन संरचना निर्माण सुरु

विराटनगरको आईसिपीमा एकसाथ तीन संरचना निर्माण सुरु

विराटनगर । विराटनगर आईसिपी क्षेत्रमा एकसाथ तीन संरचना निर्माण सुरु गरिएको छ । विराटनगर–१८ बुधनगरस्थित रेलवेको नेपाल कष्टम यार्ड र आईसिपीलाई जोड्ने लिंक रोड, रेलमार्फत आएका कन्टेर राख्ने यार्ड र चोरी पैठारीबाट आयात भएका वस्तु बरामदपछि भण्डारण गर्न लिटिगेसन गोदाम निर्माणको काम एकसाथ सुरु गरिएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले ५० करोड लागतमा कन्टेनर यार्ड, ६० लाख लागतमा पहुँच मार्ग र ४ करोड ८० लाख लागतमा लिटिगेसन गोदाम निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता गरेर प्रारम्भिक चरणको काम सुरु गरेको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यका अनुसार ५० करोड लागतमा २८ हजार वर्गमिटको कन्टेनर यार्ड १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ । रेलबाट आएका कन्टेनर आईसिपी परिसरसम्म आएपछि यार्डमा राखिने छ । एकआथि अर्को खप्टाएर तीन कन्टेनर एकै स्थानमा राख्न मिल्ने गरि यार्ड निर्माण गरिने छ ।

आईसिपी जोड्ने पहुँचमार्ग विस्तारको काम धमाधम भईरहेको छ । रेलवेको नेपाल कष्टर्म यार्डबाट आईसिपीसम्म तत्काल मालवस्तु लोडेड कन्टेनर सडक सञ्जालमार्फत भित्र्याईने छ । यो आईसिपी विस्तारको अल्पकालिन योजना अनुसार सडक सञ्जाल प्रयोग गरिने भएपनि दिर्घकालिन रुपमा कष्टम यार्ड र आईसिपीलाई रेल–वे ले जोड्ने लक्ष्य राखिएको छ ।
यसैगरी भारतबाट अवैध रुपमा चोरी–पैठारी भई आएका मालवस्तु प्रहरी तथा भन्सार गस्ती टोलिले नियन्त्रणमा लिएपछि राख्नका लागि छुट्टै गोदाम घर निर्माणको काम सुरु गरिएको छ । लिटिगेसन सेड हाउस ४८÷११ वर्गमिटर क्षेत्रफलको निर्माण हुनेछ । यसको निर्माण एकवर्ष अवधीमा सकिने छ ।

भारतको बथनाहादेखि विराटनगर बुधनगर आईसिपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन नेपालले गर्नुपर्ने आवश्यक तयारी अन्तर्गत कन्टेनर यार्ड र लिंक रोडको काम सुरु गरिएको हो ।
पहिलो चरणमा कार्गोरेल नेपाल कष्टम यार्डसम्म आएपछि कन्टेरलाई मालवहाक सवारीमार्फत आईसिपीको भन्सार यार्डसम्म नापजाँचका लागि ल्याईने छ । कष्टमयार्ड र आईसिपीबीचको भागमा रेल यार्ड निर्माण गर्ने कार्य समेत यो काम सकेपछि सुरु गरिने छ । गत भदौ १७ गते बोलपत्र आह्वान गरिएको थियो ।

मोरङको कटहरीसम्म विस्तार भईरहेको रेलमार्ग, निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भईसकेको बुधनगरको नेपाल कष्टमयार्डसम्म कार्गो रेल ल्याउने तयारी छ । तर, आवश्यक संरचना नहुँदा निर्माण सम्पन्न भईसकेको रेलमार्ग नेपालले प्रयोगमा ल्याउन सकेको छैन ।
रेलमार्गको १८.६ किलोमिटरमध्ये बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । त्यसपछि बारम्बार रेलमार्ग विस्तार प्रयोजनका लागि आवश्यक सामाग्री बोकेर रेल आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्