विराटनगर । बर्जु गाउँपालिकामा ठेकेदारसँगको मिलेमतोमा निर्माणका काम अगाडी बढाएर चरम भ्रष्टचार र बेथिती बढेको स्थानीयले आरोप लगाएका छन् । विकास निर्माणका कामहरुका बारेमा स्थानीयलाई सोध्न र बुझ्न पाउने अधिकारबाट समेत बन्चित गराउँदै स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबाट भ्रष्टचार हुने गरेको आरोप लगाइएको हो ।
स्थानीय चारजना युवाहरुले बर्जु गाउँपालिका २ र ४ जोड्ने भीमपुर–गुजेलाल ११ सय मिटर सडक र बर्जु–४ होरबनी ७०० मिटर दुरीको सडक कालोपत्रे कमसल भएको भन्दै मापदण्ड उल्लेखित लागत अनुमान प्रतिवेदन माग गरेका थिए । २ करोड ६८ लाख रुपैँया बजेटमा जम्मा १८०० मिटर सडक निर्माणको काम आर.के.कस्ट्रक्सनले गर्दै आएको छ । मापदण्डमा फिलिङ्गका लागि ६४०३ घनमिटर माटो प्रयोग गर्नुपर्ने उल्लेख भएपछि २५ सय घनमिटर मात्रै प्रयोग भएको पाइएको छ ।
स्थानीय दिपक राय, विवेकानन्द यादवसहितका चारजना युवाहरुले गुणस्तरहिन काम भएको भन्दै गाउँपालिकाले तयार पारेको गुरुयोजना र त्यसका आधारमा बनेको लागत अनुमान, अन्तिम ठेक्का सम्झौता हुँदाको विवरण समेत माग गरेर प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतासँग सुचना माग गरेका थिए । लिखित सुचना माग गरेपनि दिन आलटाल गरिएको उजुरीकर्ता यादवले जानकारी दिए । पन्ध्रदिन अगाडी लिखित निवेदन दिएर सुचना मागेका उनीहरुलाई आइतबार प्रमुख प्रशासकिय अधिकृत मेहताले अर्को निवेदन दिनुपर्ने भनेका थिए । पहिलाको निवेदन हराएको भन्दै नयाँ निवेदन माग गरेर प्रमुख प्रशासकिय अधिकृत मेहताले कार्यपालिका बैठकबाट निर्णय भएपछि उपलब्ध गराउने भन्दै तोक लगाएका छन् ।
त्यसपछि युवाहरुले सुचना दिनुपर्ने माग गर्दा उल्टै अभद्र व्यवहार गरेकोले कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीसँग माग गरिएको उनीहरुले बताएका छन् । ठेकेदारसँग मिलेर लागत भन्दा बढी रकममा योजना खडा गर्ने र मापदण्डमा तोकिएको भन्दा कम र न्यून गुणस्तरको सामाग्री प्रयोग गर्ने गरेर सेटिङमा पैसा खाने गरेको आरोप छ । प्रशासकिय अधिकृत मेहताले सेवाग्राहीको कुनै कुरा नसुन्ने भएका कारण कसैले कुनै योजनाको विषयमा सोध्न बुझ्न जाँदा चुकुल लगाएर कार्यकक्षमा बस्ने गरेको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत मेहतासँग यस विषयमा बुझ्न बारम्बार फोन गर्दा रिसिभ गरेनन् ।