जहदा–४ की ममता सिंहलाई छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन

<span class='c1'>जहदा–४ की ममता सिंहलाई छिमेकीले मारपीट गर्दै</span> <span class='c2'>कपाल उखेले, न्याय दिने कोहि छैन</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा अतिविपन्न एक परिवारलाई छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरेको घटनालाई प्रहरीले वेवास्ता गरेको छ । पीडक पहुँचवाला हुँदा स्थानीय जनप्रतिििध समेत बोल्न नसक्ने स्थितिमा हुँदा प्रहरीले समेत न्याय दिलाउन आनाकानी गर्दै आएको हो ।

केहिदिन अगाडी ५६ वर्षीया ममतादेवी सिंहको घरमा आन्तरिक सामान्य विवाद उत्पन्न भएको थियो । छोरा–छोरी र आमाबीच सामान्य व्यवहारिक विषयमा भईरहेको छलफलका क्रममा छिमेकी दिनेश कुसवा सिंह, चन्दन सिंह, श्रवण सिंह र महावीर सिंह घर भित्र प्रवेश गरेर अन्धाधुन्ध हिर्काएको पीडितले बताएकी छिन् । ‘राती ११ः३० बजेको थियो, अचानक चारजना पसेर मलाई र छोरालाई हिर्काए’ ममताले भनिन्–त्यसपछि गुहार माग्दै वडा अध्यक्ष शंकर गामीको घर पुगें, उनले प्रहरीलाई फोन गरेर बोलाए । ममताको घरसँगै जोडिएको रतन सिंहको घरमा रहेका चारजनाले ममताको कपालमा समाएर हिर्काउँदा घाँटी, ढाड र खुट्टा सुनिएको थियो । उनको टाउकाको एक मुठ्ठी कपाल उखलिदिएका थिए । उनी त्यहि कपाल बोकेर अहिले न्याय माग्दै सञ्चार संस्थाका कार्यालय र मानव अधिकारसँग सम्बन्धित संघसंस्थामा धाउँदै आएकी छिन् ।

सिंहको घर ऐलानी ७ धुर जग्गामा रहेको छ । पुस्तौंदेखि बस्दै आएकी उनलाई त्यहाँबाट विस्थापित गराएर साँध जोडिएका रतन सिंहले उक्त जग्गा हडप्ने योजना अनुसार बारम्बार घटना हुने गरेको पीडितको दावी छ । ‘उनीहरुको ठूलो जत्था छ, मेरो सासु–ससुरा पनि उनीहरुबाट बारम्बार कुटिए, अहिले म कुटिरहेकी छु’ पीडित सिंहले भनिन्–काटेर माटो मुनी गाडी दिन्छु भन्ने धम्की दिने गरेका छन् । पहुँचवाला भएका कारण रतन सिंहले बारम्बार आफ्ना मान्छे खटाएर कुट्ने र घटनालाई डिसमिस पार्ने गरेको स्थानीयहरु बताउँछन् ।

जहदा गाउँपालिका–४ का वडा अध्यक्ष शंकर गामीले कुटपिटको विषय आफूलाई जानकारी नभएपनि मध्यरातमा आफ्नो घरमा आएकोले प्रहरीलाई फोन गरेर घटना बुझ्न आग्रह गरेको र ममतालाई जिम्मा लगाएको बताएका छन् । ‘मसम्म आईपुग्दा अवस्था दयनिय थियो’ अध्यक्ष गामीले भने–कपडाहरु सबै च्यातिएका थिए, उनी अचेत जस्तै देखिन्थिन् । घटना कसरी भयो भन्ने यकिन नहुँदा अध्यक्ष गामीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले ममतालाई घरसम्म ल्याएर उपचार गरेर प्रहरीमा आउन भनेका थिए ।

उनले कोशी अस्पतालमा उपचार गराई रहेकी छिन् । प्रहरीमा समेत उजुरी दिएकी छिन् । तर, गाउँका रतन सिंह हिटलर जस्तै भएका कारण ममताको पक्षमा बोलिदिने अन्य कोहि नहुँदा उनी जिल्ला प्रहरी कार्यालय आउन समेत डराउने गरेकी छिन् । ‘मेरो कुनै चानपहिचान छैन, कसैले सहयोग गर्ने अवस्था पनि नहुँदा म आउन सकिरहेको छैन’ ममताले भनिन्–बारम्बार कुटाई खाईरहेकी म, कुन दिन मारिने छु ।

पोखरिया प्रहरी चौकीका वरिष्ठ सई राजन कटुवालले पीडितले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोले छलफलका लागि बोलाइएको जानकारी दिए । छलफलमा बोलाउँदा विपक्षीहरु पुगेपनि पीडित नजाँदा घटनाको वास्तविकता थाहा नभएको कटवालको भनाई छ । बुधबार फेरी विपक्षी र पीडित पक्षलाई राखेर छलफल गराईने भएको छ । तर, प्रहरीले छलफल राखेर पठाएपनि पीडितको पक्षमा उभिनु पर्ने स्थानीय जनप्रतिनिधि नै डराउने गरेका कारण घटना बारम्बार दोहोरिन सक्ने स्थानीय एक जानकारले बताएका छन् । ऐलानी जग्गाको पूर्जा सरकारले दिलाउन सक्ने भएपछि ममता सिंहलाई त्यहाँबाट पहिल्यै विस्थापित गराउने योजना अनुसार कुटपिट भईरहेको ती जानकार बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्