मणिराम दाहाल
सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा यूथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौंलाइ हराउँदै ३ -१ गाेलकाे अन्तरले फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । मछिन्द्रलाई फाइनल चरणमा पुग्न रोक्दै सगरमाथालाई उपाधी नजिक पुर्याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले एक एक गोल गर्न सफल भए ।
सगरमाथाका खेलाडी लोप्चनले खेलको ४ औ, स्टेफिनले १२ औ र मेसुकेले ५१ औ मिनेटमा गोल गरेका थिए । पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८ औ मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्काए ।
खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित भए । उनले नगद रू १० हजार पाए ।
आज बिहिवारकाे दाेस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज युनाइटेड काठमाडौ बिच हुने आयाेजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।
मछिन्द क्लबलाई खेल अवधि भरि कडा दवाफमा राखेको सगरमाथाले अन्तिम सेमिफाइनल बिजेतासँग उपाधीका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । उपाधी बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख हात पार्ने आयाेजकले उल्लेख गरेको छ ।