रुख काट्न बिचौलिया पुग्छन् किसानका बारीमा

रुख काट्न बिचौलिया पुग्छन् किसानका बारीमा

विराटनगर । किसानको निजी जमिनमा रहेको काठ कटान गरेर बिक्री गर्न कानुनी झन्झटले पूर्वका प्लाईउड उद्योगलाई कच्चा संकलनमा समस्या रहेको छ । किसान आफैंले प्रक्रिया पूरा गर्न झन्झट हुँदा त्यसको फाइदा बिचौलियाले लिने गरेका हुन् ।

कोशी प्रदेशमा देशभरमै सबैभन्दा धेरै प्लाईउड उद्योग रहेका छन् । इलाम, झापा, सुनसरी र मोरङमा रहेका ३६ वटा उद्योग छन् । प्लाईउड उद्योग संघका सचिव दिनेश चापागाँईका अनुसार देशभरमा रहेका ७५ उद्योगले नेपालै कच्चा प्रयोग गरेर वस्तु उत्पादन गरि आन्तरिक तथा बाह्य निकासी गरिरहेका छन् ।

सरकारले प्लाईउड उद्योगमा ४ देखि ८ प्रतिशतसम्म अनुदान दिन थालेपछि भारत निर्यातमा आकर्षण देखिएको सचिव चापागाँईले जानकारी दिनुभयो । तर, रुख काटेर बिक्री गर्नका लागि किसानलाई झन्झटीलो सरकारी प्रक्रियाले प्रत्यक्ष लाभ लिन भने नसकेको उद्योगीहरुको भनाई छ ।
ग्रीन प्लाई मोरङका सञ्चालक दिवाकर राठीले बिचौलियाले सरकारी प्रक्रिया पूरा गर्न सहज तर किसानलाई असहज हुँदा रुखको मूल्य कम पाउने गरेका छन् । किसानको बारीमा भएको रुख ढलान, कटान र छपान हुने प्रक्रिया पूरा गरेर उद्योगसम्म आउने गोलिया काठ महंगो छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा २ अर्ब १६ करोड २३ लाख रुपिँया बराबरको प्लाईउड निर्यात भएको छ । संघका सचिव चापागाँईले गत आर्थिक वर्ष २०७८÷२०७९ मा ३५ करोड २३ लाख र आर्थिक वर्ष २०७७÷२०७८ मा एक करोड ४६ लाख रुपिँया मूल्य बराबरको प्लाईउड मात्रै भारत निर्यात भएको जानकारी दिनुभयो ।

सरकारले नगद अनुदान दिने घोषणा गरेसँगै चालु आर्थिक वर्षमा पाँच अर्बको निर्यात हुनसक्ने अनुमान गरिएको छ । सरकारले दिने भनेको नगद अनुदान कार्यन्वयनमा सहज भए आगामी आर्थिक वर्ष १० अर्बको प्लाईउड निर्यात हुने र किसानले समेत त्यसको लाभ लिने अवसर सिर्जना हुने दावी उद्योगीहरुको छ ।
किसानले उत्पादन गरेका रुख बिक्रीका लागि सहजीकरण, नयाँ बिरुवा रोप्न प्रेरित गर्ने काम भए नेपालमा उत्पादन भएको प्लाईउड भारतमा जतिपनि माग रहेको दावी उद्योगीहरुले गरेका छन् ।
तर, भारतमा नेपाली प्लाईउडको माग बढेपछि बीमा कम्पनीहरुले अनावश्यक प्रिमियममा कसेको उद्योगीहरु बताउँछन् । दुईवर्ष अगाडीसम्म एक करोडको प्रिमियम ३ लाख ५० हजार लिदैं आएका बीमाले गत वर्षदेखि नौ लाख रुपिँया बनाएका छन् । नेपालका उद्योगी र व्यवसायीले निर्यातलाई प्राथमिकतामा राखेपछि बीमा कम्पनीहरुले अनावश्यक रुपमा प्रिमियम बढाएको दावी छ ।

तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले निर्यातमा नगद अनुदान दिने निर्णय भएको थियो । त्यसको प्रभाव अहिले उद्योगीहरुले निर्यातमार्फत देखाएका हुन् । पूर्वका झापादेखि पश्चिमको नेपालगञ्ज नाकासम्मबाट प्लाईउड निर्यात हुँदै आएको छ । काँकडभिट्टा, विराटनगर, कृष्णनगर, भैरहवा, मलंगवा, जनकपुर र नेपालगञ्जबाट प्लाइउड निर्यात भईरहेको उद्योगीहरुको दावी छ ।
पहाडमा ह्वात्तै बृद्धि हुने नरम प्रजातिका उत्तिस, मलाँतो, सउर, तराईमा मसला, आँप, कदम, लहरे पीपर आदीका रुखको काठबाट प्लाई उत्पादन हुने गरेको छ । किसानले पाखा बारीमा लगाएको रुख कटानमा भने समस्या रहेको छ । रुख ढलान, कटान र छपान गराउन वन कार्यालयका कर्मचारीलाई चार पटकसम्म सम्बन्धित क्षेत्रमा पु¥याउनु पर्ने स्थिति भएका कारण किसानले सिधैं काम गराउन सक्दैनन् । जसका कारण उद्योगमा आपूर्ति प्रणाली समस्या हुने गर्दछ । बिचौलियाले किसानसँग खरिद गरेको रुख उद्योगमा आईपुग्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्