सुजता लिम्बु
विराटनगर । सुनसरी सोनापुर निवासी २२ वर्षीया आइशा खातुनका लागि परिवारको दर्बिलो थियो । यहि साथले उनी यति एयरलायन्सको जहाजमा एयर होस्टेज बनेर उडान भर्ने भइन् । मुस्लिम समुदायमा महिलाहरुका लागि निर्माण गरिदिएको धार्मिक, सांस्कृतिक बन्धनका पर्खाल भत्काएर उनी आकाशमा उडिरहने स्थानमा पुगेकी छिन् ।
शरीर ढाक्ने पहिरन, अनुहार ढाक्ने बुर्कादेखि टाढा बसेर आफ्नो सपना पछ्याएकी आइशा यति एयरलायन्सको जहाजमा एयर होस्टेज (परिचारिका) को रुपमा ६ महिनादेखि कार्यरत छिन् । ्
उनलाई भर्खरै नेपालकै पहिलो मुस्लिम एयर होस्टेजको रुपमा नेपाल मुस्लिम संघले सम्मान समेत गरेको थियो । सम्मानित भएपछि उनी खुशी साट्दै परिवारका सम्पूर्ण सदस्यलाई स्मरण गर्छिन् । उनी हाँस्दै भन्छिन् ‘परिवारको साथ पाए संसार जित्न सकिने रहेछ ।’ परिवारमा बुबाआमा भाई र उनी एक्ली छोरी हुन् ।
एक्ली छोरी भएकाले पनि बुबाले एयर होस्टेजका लागि अनुमति नदिएको बताउने उनीलाई आफ्नो रुची प्रष्ट्याउन निक्कै समय लागेको बताउँछिन् । मुस्लिम समुदायमा छोरीलाई स्वतन्त्र भएर हिँड्ने छुट नभएकोले नकारात्मक टिकाटिपणी गरिएका नमिठो क्षणहरु उनीसँग छन् । तर, परिवारले सन्तानको इच्छा बुझिदिए समाजले निर्माण गर्ने धारणाहरुलाई विस्तारै परिवर्तन गर्न सकिने उनको बुझाई छ ।
‘हाम्रो समुदायमा महिलालाई स्वतन्त्र भएर हिँड्ने छुट छैन, एकजनाले हुँदैन भने पछि त्यो नै अन्तिम निर्णय हुन्छ, मेरो भाई र ममिले बुझ्नुभएको थियो बुबालाई सम्झाउन निक्कै समय लागेको थियो,’ उनले सुनाइन्, ‘मैले अंगाल्ने पेसाको विषयमा बुबालाई सम्झाए पछि उहाँले बल्ल अनुमति दिनुभयो, परिवारले साथ दिए समाजलाई विस्तारै परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ ।’ परिवारले सकारात्मक उर्जा दिए लक्ष्य प्राप्त गर्न सफल हुने बताउने आइशा तीन हजार जनसंख्या रहेको छाताबेली बस्ती (उनको पुख्यौली घर)मा स्नातकोत्तरसम्मको अध्ययन गर्ने पहिलो मुस्लिम महिला समेत हुन् । पढाईको विषयमा पनि उनले पे्ररणादायी किस्सा सुनाइन् । उनको बुबा तत्कालिन गाविस अध्यक्ष हुँदा अनपढ भनेर अपमान बेहोर्नुपरेको थियो । त्यही क्षणले पढाईमा रुची बढेको सुनाउने उनी बुबाले नपढे पनि आफूले पढेर इच्छा पुरा गरेको सुनाउछिन् । ‘मेरो बुबा नपढे पनि राजनीतिमा डिग्री होल्डर हो,’ उनी हाँस्दै सुनाउछिन्, ‘तत्कालिन समय बुबा गा.वि.स अध्यक्ष हुनुहुन्थ्यो, त्यो बेला नपढेको भनेर अपमान गरेको थियो रे त्यो क्षणले पनि मलाई पढ्नमा प्रेरणा मिलेको हो ।’
सानो छँदा घरमा बुबाले पढ्नका लागि ल्याइएको म्यागजिनमा छापिएको परिचारिकाको सुन्दर तस्वीरले एयर होस्टेज बन्ने सपना सजाएको बताउने उनी परिवारले दिएको स्वतन्त्रतालाई सही ठाँउमा उपयोग गर्न सक्नु महत्वपूर्ण पाटो रहेको बताउछिन् । हिजोका दिनमा छोरी घरबाट बाहिर निस्किदा नराम्रो सोँच्नेले अहिले सम्मान गर्दा धेरै खुशी लागेको उनी सुनाउछिन् । जहाजमा परिचारिकाको पेसा पनि समाजसेवा जतिकै रहेको उनको बुझाई छ । मुस्लिम समुदायका महिलाहरु डाक्टर, इन्जिनियर भए पनि बुर्काबाट बाहिरि नसकेको अवस्थामा आफूले स्वतन्त्र पेसा अपनाउदा गर्विलो महसुस गरेको समेत उनी सुनाउछिन् ।
‘मलाई मेरो समुदायको ९० प्रतिशतले साथ दिनुभएको छ, त्यसमा १० प्रतिशतले केही प्रतिक्रिया पनि दिएका होलान उहाँहरु पनि विस्तारै मलाई सम्झिनुहुनेछ,’ उनी भन्छिन्, ‘हिजो मलाई नराम्रो भन्नेले आज राम्रो भन्नुहुन्छ खुशी लाग्छ, हाम्रो समुदायमा महिला डाक्टर, इन्जिनियर हुनुहुन्छ उहाँहरु बुर्का भित्रै काम गर्नुहुन्छ तर मेरो काम स्वतन्त्र भएर गर्ने हो परिवारको प्रतिष्ठालाई साथमा राखेर इमान्दारपूर्वक आफ्नो पेसामा प्रतिवद्ध छु ।’