सातौं पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता

सातौं पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिएको हो । सरकारले अझै पूर्णता पाउन सकेको भने छैन । प्रचण्ड पुस १० गते प्रधानमन्त्री भएका थिए । सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेन ।

अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । किनकी ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ । कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरिएको छ । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री नियुक्त भएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्