मोरङमा संगठित रुपमा एसईई दिने नक्कली परीक्षार्थी खडा

मोरङमा संगठित रुपमा एसईई दिने नक्कली परीक्षार्थी खडा

विराटनगर । मोरङमा संगठित रुपमा नक्कली परीक्षार्थी खडा गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा सामेल गराएको खुलेको छ । प्रहरीले जिल्लाका तीन वटा परीक्षा केन्द्रबाट एकै दिन १९९ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । एसइई परीक्षाको पाँचौ दिन बिहीबार सामाजिक विषयका दिन प्रहरीले विवरण क्रसचेक गर्दै उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ ग्रामथानको झोराहाटस्थित सरस्वती नमुमा मा.वि परीक्षा केन्द्रबाट ५२ जना, सार्वजनीक मा.वि. केराबारीबाट १२७ जना र जनता मा.वि सुन्दरहरैचाबाट २० लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार यति धेरै संख्यामा नक्कली परीक्षार्थी केन्द्रमा प्रवेश गर्ने वातावरण कसरी सिर्जना भयो भन्ने विषय अनुसन्धानमा रहेको छ । प्रहरीलाई सूचना प्राप्त भएपछि बुधबार अनुगमन गरेको थियो । त्यस क्रममा एकजना परीक्षार्थीको व्यक्तिगत विवरणसँग उसको प्रवेशपत्रको फोटो मेल खाएको थिएन । त्यसपछि प्रहरीले परीक्षार्थीले भरेको विवरण परीक्षण गरेर बिहीबार अनुगमन गरेको थियो । त्यस क्रममा परीक्षा दिने व्यक्तिले बोकेको प्रवेश पत्रको फोटोसँग विवरण मेल नखाएको भेटिएको हो ।

जिल्ला शिक्षा समन्वय इकाई प्रमुख टंक गौतमले सामान्य निरीक्षणले मात्रै पत्ता लगाउन नसकिने गरी प्रवेश पत्र बनाएको दावी गरेका छन् ।
‘विद्यार्थीको अनुहार र प्रवेशपत्रमा टाँसिएको फोटो हुबहु छ, टाँसिएको फोटोमा प्रधानध्यापकको छाप पनि छ, त्यसैले यो सामान्य निरीक्षणले पहिचान हुने विषय थिएन, गौतमले भने आवेदन फारममा उल्लेख भएको व्यक्तिगत विवरण र प्रवेशपत्र बोकेर परीक्षा केन्द्रमा भेटिएको विद्यार्थीको मेल नखाएपछि उनीहरुमाथि आशंका गरिएको हो । परीक्षा केन्द्रमा भएका नक्कली परीक्षार्थीले बुबा, आमाको नाम जन्ममिति भन्न सकेनन्, त्यहीबाट नक्कली खडा गरेको पत्तो पाइयो ।

विभिन्न सत्रप्रयोग गरेर छानविन गर्नुपर्ने भएकाले परीक्षा केन्द्रले जानकारी समेत पाउन गाह्रो हुने गरेको उनले बताए । नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द हुनेछ । नक्कली खडा गर्ने विद्यार्थी समेत यसको कारवाहीको भागिदार हुने देखिएको छ । नियन्त्रणमा परेकाहरुलाई प्रचलित कानुन अनुसार कारवाही हुने बताइएको छ ।

प्रहरीले यसका संगठित समूह संलग्न रहेको आशंका गरेको छ । भिन्न–भिन्न विद्यालयमा यस्तो भेटिनु यसमा छुट्टै सञ्जालले काम गरेको हुनसक्ने प्रहरीको बुझाई छ । प्रहरीले विद्यालयले भराएको फारमदेखि विद्यार्थीले बोकेको प्रवेशपत्र बनाउनेसम्मको घटनालाई नियाल्ने भएको छ ।
एकैपटक धेरै संख्यामा परीक्षार्थी पक्राउ परेपछि उनीहरुलाई बाँडेर राखिने भएको छ । प्रहरीका प्रमुख पोखरेलले सहज हुने स्थानहरुमा उनीहरुलाई राखिने बताएका छन् । बस्न असहज हुँदैन, अनुसन्धानमा सबैले सहयोग गर्नुपर्छ, प्रहरी प्रमुख पोखरेलले भने–यसको विषयमा सुक्ष्म अध्ययन गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्