विराटनगर । मोरङमा नक्कली परीक्षार्थी बनेर माध्यमिक शिक्षा परीक्षा (एसईई) लेख्ने दुईसयजनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । मोरङका तीन केन्द्रमा सहभागि भएका तीन विद्यालयर्का िवद्यार्थीको नाममा परीक्षा लेख्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।
विशेष सुचनाका आधारमा बुधबार दुईजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसलगतै बिहीबार गरिएको निरीक्षणमा १९९ जना परीक्षार्थी नक्कली भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय केन्द्रमा ५२ जनालाई पक्राउ गरिएको छ । उनीहरु बुढीगंगा गाउँपालिकास्थित नगरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको नाममा परीक्षा लेख्नेहरु हुन् ।
यसैगरी केराबारी गाउँपालिकास्थित सार्वजानिक माविबाट १२७ जना पक्राउ परेका छन् । उनीहरु मछिन्द्र माविका विद्यार्थीको नाममा परीक्षा लेख्नेहरु हुन् । सुन्दरहरैंचा–१ पचामस्थित जनता माविबाट २० जनालाई पक्राउ गरिएको छ । उनीहरु मृगौलिया माविका विद्यार्थीको नाममा परीक्षा लेख्नेहरु हुन् ।
परीक्षाको पाँचौं दिन सामाजिक विषयको परीक्षा लेखिरहेका उनीहरुको प्रवेशपत्रमा उल्लेखित फोटो र परीक्षा फारम भर्दा प्रयोग भएको फोटो तथा विवरण अलग–अलग देखिएको थियो । मोरङका प्रहरी प्रमुख दिपक पोरखेलले नक्कली परीक्षार्थी खडा गरेर सामेल गराएको विशेष सुचनाका आधारमा प्रहरीले बुधबारदेखि अनुसन्धान सुरु गरेको थियो । बुधबार ग्रामथानको सरस्वती माविमा विज्ञान विषयको परीक्षा लेखिरहेको बेला धरान–५ निवासी सुस्मिता लिम्बु पक्राउ पर्नु भएको थियो । कल्पना लिम्बुको परीक्षा लेख्ने सुस्मितालाई पक्राउ गरेपछि प्रहरीले अनुसन्धानलाई थप केन्द्रीत गरेको जिल्ला प्रहरी प्रमुख पोखरेलले बताउनुभयो ।
पक्राउ परेका परीक्षार्थीको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । प्रहरीले संगठित समूहले प्रवेशपत्रको विवरण नै परिवर्तन गराएर परीक्षा लेख्ने समूह तयार पारेको हुनसक्ने आशंका गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा राखेर प्रारम्भिक बयान लिने काम भईरहेको छ ।