पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग

पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग

खोटाङ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनरत शक्तिसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नामाकरण गर्न सरकार समक्ष माग गरेको हो।

१५ बुँदे चखेवा घोषणापत्र जारी गरेको प्रेस सेन्टर नेपाल प्रदेश समितिले श्रमजीमी पत्रकार ऐन कार्यान्वयन गर्न, सञ्चार विरोधी ऐन खारेज गर्न, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई अनिवार्य उपलब्ध गराउन, लोक कल्याणकारी विज्ञापनको शुल्क समयानुसार वृद्धि गर्न, द्वन्द्व पीडित, अशक्त, अपाङ्ग पत्रकार र उनीहरुको परिवारलाई उपचार र रोजगारसँगै राहत तथा क्षमता अभिवृद्धिमा विशेष प्राथमिकता दिन प्रदेश सरकार समक्ष माग गरेको छ । कोशी प्रदेशभित्र सञ्चालनमा रहेका स्वरोजगारमुखी सञ्चार माध्यमलाई आत्मनिर्भर बनाउन, प्रदेश र पालिका तहमा पत्रकार सुरक्षा कोष स्थापना गरेर सञ्चालनमा ल्याउन, पर्यटकीयस्थल चखेवा भञ्ज्याङको दीगो पर्यटन प्रवद्र्धनका लागि योजनासहित बजेट विनियोजन गर्न साधारणसभामार्फत तीनवटै तहका सरकार समक्ष माग गरिएको प्रदेश अध्यक्ष विनोदप्रभात घिमिरेले जानकारी दिनुभयो ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले आफूहरुले पहिचानको विषय सुरुदेखि उठाएको र आगामी दिनमा पनि पहिचानकै पक्षमा रहने जानकारी दिनुभयो । “हाम्रो मातृ पार्टी नेकपा (माओवादी केन्द्र) ले पहिचानको मुद्दा छाडेको छैन । कोही पनि भ्रममा नपर्नुहोला”, उहाँले भन्नुभयो, “विचार र भिजनको हिसाबले प्रेस सेन्टर नेपाल देशकै ठूलो सङ्गठन हो । देशमा पहिचानको विषय प्रेस सेन्टर नेपालले मात्र स्थापित गराउन सक्छ । तपाईहरु अडिग भएर पहिचानको पक्षमा कलम चलाउनुहोस् । यो सम्भव छ । कोही पनि भ्रमको पछाडि नलाग्नुहोला !”

नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले पत्रकारले सही सूचना दिँदै समाजमा परिवर्तनको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “प्रदेशको नामाकरणको विषयमा हामीहरुले पहिले जे अडान राखेका थियौँ, अहिले पनि त्यसैमा अडिग रहेका छौँ”, उहाँले भन्नुभयो, “तपाई पत्रकारले सही सूचना दिँदै समाजमा परिवर्तनको भूमिका निर्वाह गर्नुपर्छ । कोशी प्रदेशको नाम पहिचानको आधारमा पुनः नामाकरण हुन्छ ।”

प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव विवेक गौतमले पत्रकारको हकअधिकार र सुरक्षाको विषयमा आफूले खेलेको भूमिका र अब गर्ने कामका विषयमा सङ्गठनलाई जानकारी गराउनुभएको थियो । प्रेस सेन्टर नेपालका उपाध्यक्ष निर्मल ज्ञवाली, गङ्गा बराल, सचिव विमल लामिछाने, स्मीता निरौला, प्रयास लिम्बू, डम्बरसिं राई, प्रेस सेन्टर नेपालका सल्लाहकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बराल, माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य राजेश खतिवडा लगायतले सम्बोधन गर्नुभएको थियो । साधारणसभामा उत्कृष्ट जिल्ला शाखा घोषणा गर्दै सुनसरीलाई प्रथम, खोटाङलाई दोस्रो र पाँचथरलाई तेस्रो शाखाको रुपमा प्रदेश समितिले सम्मान गरिएको उपाध्यक्ष राजन साम्पाङ ‘समीप’ ले जानकारी दिनुभयो । गत स्थानीय तहको निर्वाचनमा सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–७ को वडाध्यक्षमा निर्वाचित प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भोजराज कार्की र सोलुखुम्बुकै माप्य दूधकोशी गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित प्रदेश समितिका पूर्व सहसचिव प्रकाश खालिङलाई सम्मानसहित प्रेस सेन्टरबाट बिदाइ गरिएको जनाइएको छ ।

देश सङ्घीयतामा गएपछि बनेको प्रदेश संरचनाअनुसार प्रेस सेन्टर नेपालको पहिलो अध्यक्ष राजन केडी र पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका नीति तथा परामर्श समितिका गणेश लम्साललाई सम्मान गरिएको छ । साधारणसभामा प्रेस सेन्टर नेपालका प्रदेश महासचिव सुजन तिम्सिनाले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन संशोधनसहित पारित गरिएको जनाइएको छ । साधारणसभा सहभागी अतिथिलाई प्रेस सेन्टर नेपाल भोजपुर शाखाले मायाको चिनोस्वरुप ‘भोजपुरे खुखुरी’ प्रदान गरेको थियो । प्रेस सेन्टर नेपालको साधारणसभा प्रदेश समिति तथा भोजपुर शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्