व्यवसायसँग जोडिदैं मायाको चिनो ‘सिलाम–साक्मा’

व्यवसायसँग जोडिदैं मायाको चिनो ‘सिलाम–साक्मा’

सुजता लिम्बु
विराटनगर । लिम्बू समुदायको धार्मिक आस्थासँग जोडिएको ‘सिलाम–साक्मा’ पछिल्लो समय महिला दिदीबहीनीहरुका लागि व्यवासायको आधार बन्दै गएको छ । लिम्बू जातिहरुको बाहुल्यता रहको क्षेत्रमा हुने विभिन्न सार्वजनिक कार्यक्रममा सिलाम –साक्मा लगाइदिएर स्वागत सम्मान गर्ने गरिन्छ । अन्य समुदायका पाहुनालाई चिनो स्वरुप दिइने गरिन्छ ।

परम्परागत अनुसार घरमा मात्रै प्रयोग गरिने सिलाम–साक्मा पछिल्लो समय बजारका कार्यक्रममा माग बढ्दै गएकाले पनि व्यवसायीकरण भएको विराटनगर– ११ की शर्मिला देवान बताउँछिन् । विभिन्न सार्वजनिक कार्यक्रमा व्याजको सट्टा सिलामसाक्मा प्रयोग गरिने गरिन्छ । आजभोलि लिम्बू समुदायको विवाह कार्यक्रममा पनि महिला र पुरुष दुवैजनालाई छातीमा सिलाम–साक्मा लगाइदिने गरेको उनी बताउँछिन् । उनले ६ वर्ष अगाडीदेखि घरको प्रयोजनाका लागि मात्रै सिलाम साक्मा बनाउदै आएको थिइन् । तर विराटनगरमा हुने कार्यक्रमा सिलाम साक्माको माग बढेदेखि यता व्यवसायिक हिसाबले बनाउन थालेको उनी सुनाउँछिन् । ‘विराटनगरको चुम्लुङ, यायोक्खाको कार्यक्रम हुँदा धरानदेखि सिलाम–साक्मा ल्याउनुहुन्थ्यो, मैले घरमा मात्रै प्रयोग गर्ने हिसाबले बनाउने गरेको थिए,’ उनले सुनाइन्, ‘पछि कार्यक्रममा माग बढेपछि मैले यसलाई व्यवसायिक हिसाबले अगाडी बढाएकी हुँ ।’

समय हुँदा दैनिक १० वटासम्म सिलाम–साक्मा बनाउने गरेको बताउँदै उनले युके, हङकङ सम्म निर्यात गर्ने गरेको बताइन् । प्रति गोटा एक सय रुपैँयाको दरले बिक्री गर्ने गरेको बताउने उनी यसलाई लिम्बूको धार्मिक र मुन्धुम अनुसार बनाउँदा आस्था नमर्ने समेत बताइन् । बाँसको दुई कप्टेरोमा नौँ वटा रंगको धागो हातले जोडेर बनाइने चारकुने सिलाम साक्मा छेउमा फुर्का राखिएको हुन्छ ।
विारटनगर–३ मा बस्दै आएकी संखुवासभाकी इसा यख्खा पनि अर्डर अनुसार सिलाम–साक्मा बनाउने र विक्रि गर्ने गर्छिन् । दैनिक ९ वटासम्म बनाउन सकिने बताउने उनी साधारण भए प्रतिगोटा एक सय र मोति जडितको भए तीन सय देखि चार समयसम्ममा बिक्री गर्दै आइरहेको बताउँछिन् । खटेर मार्केटिङ गर्न सके यसको व्यवसाय राम्रो हुने अनुभव सुनाउँदै उनी भन्छिन्,‘ खट्दा राम्रो व्यापार हुन्छ, पछिल्लो समय चिनो स्वरुप, कार्यक्रममा व्याजको सट्टा माग बढेको छ मार्केटमा खट्न सक्नुपर्छ ।’

के हो सिलाम साक्मा ?
‘सिलाम साक्मा’ भनेको लिम्बू भाषमा मृत्युको बाटो छेक्ने भन्ने अर्थ रहेको लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष याङ लागती बताउछन् ।
उनका अनुसार ‘सि’ भनेको मृत्यु, ‘लाम’ भनेको बाटो र ‘साक्मा’ भनेको रोक्नु भन्ने अर्थ लाग्छ । तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्माको सम्बन्ध रहेको बताउदै उनले मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइने गरेको उनी बताउछन् । पहिले घरको धुरी र ढोकामा राखिने चलन रहेको बताउने उनी पछिल्लो समय विभिन्न समारोह र कार्यक्रममा प्रायोग हुन थालेको बताउछन् ।

‘उहिले तङसिङ तक्मा ९लिम्बूहरुको ठूलो अनुष्ठान’ को सबै सकेर त्यसको अन्तिम दिन बाँडिन्छ, १३ दिने दाजुभाईको प्रत्येक घरमा बाँडिने चलन थियो , घरको धुरीमा या दैलोमा झुण्ड्याउने चलन छ, यो एकदम नै पवित्र चिज हो ।’ उनले भने पछिल्लो समय पाहुना तथा सार्वजनिक समारोहमा प्रयोग गर्न थालिएको छ,’ व्यवसाकिकरण हुँदै गर्दा यसको विधि भुल्न नहुने तर्क राख्दै उनले ९ डोरोको नै बनाउनेपर्ने बताउछन् । ‘पछिल्लो समय कसैले कति डोरो कतिले कति डोरो बनाउछ भन्छन्,’ उनी भन्छन्,‘ यो ९ ग्रह सँग जोडिएकाले ९ डोरोको नै हुनुपर्छ, धार्मिकसँग जोडिएकाले यो एकदमै पवित्र चिज हो ।’

सिलाम साक्मालाई जीवनको सुरक्षा कवजको रूपमा लिइने उनको तर्क छ । अकालमा मृत्यु भएकाको आत्मालाई ठेगान लगाउन याग्रासिङ अनुष्ठान गरिने चलन रहको बताउदै उनले यही अनुष्ठानमा प्रयोग हुने सिलाम जीवन रक्षाका लागि प्रयोग गरिने गरेको उनी बताउछन् ।

यसको विधि भुल्नु हुँदैन
लिम्बू समुदायको पवित्र चिन्ह व्यवसायीकरण हुनु सकारात्मक पाटो भए नि यसको पवित्रिकरण बुझ्न गरुरी रहेको उनी बताउछन् । यसलाई पवित्र स्थानमा राखिने भएकाले जथाभावि प्रयोग गर्न नहुने उननको भनाई थियो । ‘ मैले धरानमा देखेको थिए, एउटाले सारीको तल्लोभागको पारीमा लगाइएको र ताङ्बामा लगाइएको थियो, मैले यसको महत्वको विषयमा त्यही बेला भनेको थिए,’ उनले भने,‘पुर्खाले गरिल्याएको धार्मिक पवित्रतासँग जोडिएका विषयको महत्व व्यवसाय गर्नेहरुले बुझ्न गरुरी छ ।’ कार्यक्रमा छातिमा राख्नु अर्थात प्रायेग गर्नु मिल्छ भन्ने प्रश्नमा उनले छाति पवित्र स्थान भएकाले सम्मानका साथ प्रायग गर्न मिल्ने उनको तर्क थियो । पहिले केही कुरामा प्रयोग नहुने नितान्त अनुष्ठानमा मात्रै प्रायोग हुने सिलाम– साक्मा अहिले भूँई तिर फाल्ने जस्ता गतिविधिले यसको पवित्रतामा आँच पुग्ने उनी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्