एसइईको नतिजा असारको तेस्रो साता आउने

एसइईको नतिजा असारको तेस्रो साता आउने

भक्तपुर । यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ ।

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले कुनै समस्या नआए असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएका बताउनुभयो ।

यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उहाँले बताउनुभयो । “छिटफुट घट्नाबाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ । घटना भएका केन्द्रका केहीलाई कानुनी दायरमा ल्याएका छौँ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार यसवर्ष परीक्षामा चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी थिए ।

यसवर्षको एसइई परीक्षामा सहभागी हुनका लागि विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने पाँच लाख १६ हजार पाँच सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेर चार लाख ८४ हजार दुई सय २७ पुगेका थिए । नेपालबाट रोजगारीकका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यसवर्ष जापानबाटै परीक्षा दिएका छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरुले परीक्षामा सहभागी भएका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशबाट एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशबाट ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार, संस्कृतमा पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ जना र ५० जना दृष्टिविहीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्