विराटनगरका उद्योगीलाई लाग्यो निर्वाचन : को–को छन् उद्योग संगठनमा अध्यक्ष दाबेदार ?

विराटनगरका उद्योगीलाई लाग्यो निर्वाचन : को–को छन् उद्योग संगठनमा अध्यक्ष दाबेदार ?

विराटनगर । मोरङका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङको ५० औं साधारणसभा आगामी बैशाख २९ गते उद्घाटन हुँदैछ । बैशाख ३० गते संगठनमा नयाँ नेतृत्व निर्वाचित गर्ने कार्यक्रम छ । संगठनका अध्यक्ष सुयेश प्याकुरेलले आफ्नो दुई वर्षे कार्यकाल हस्तान्तरण गर्ने ईच्छा देखाएका छन् । उनको ईच्छा अनुसार संगठनको नयाँ नेतृत्व लिने ईच्छुकहरुले चहलपहल बढाएका हुन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा उद्योग सञ्चालन गर्दै आएका २३५ उद्योगी सदस्य रहेको संगठनमा नेतृत्वका लागि तीनजना दावेदार देखिएका छन् । उत्पादन उद्योगका सञ्चालकसदस्य रहेको संगठनको विधानमा प्रोक्सी मतको व्यवस्था छैन । सञ्चालक आफैं उपस्थित मतदान गर्ने प्रचलन विधानमा कायम गरिएपछि निर्वाचन पनि रोचक हुने गरेको छ ।

अध्यक्षले पुनः नेतृत्वका लागि आकांक्षी नबन्दा नेतृत्वका लागि अन्यलाई बाटो खुल्ला भएको हो । यद्यपी प्याकुरेल नेतृत्वको उद्योग संगठन निक्कै चयानमान बनेको थियो । उनीपछि अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी र बोर्ड सदस्य राकेश सुरानाले दावी प्रस्तुत गरिरहेका छन् ।

अनुभवका आधारमा अहिलेका अध्यक्ष प्याकुरेलपछि सुराना प्रवल दावेदार मानिन्छन् । उनी २४ वर्षदेखि उद्योग संगठन मोरङमा रहँदै आएका छन् । संगठनको ४८ औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित प्रदिप मुरारकाले अध्यक्षको दावी गर्दै आएका छन् । उनले ७७ र सुरानाले ७५ मत निर्वाचनमा ल्याएका थिए । त्यसबेला वरिष्ठ उपाध्यक्ष पदमा मात्रै निर्वाचन भएको थियो । आगामी निर्वाचनमा अध्यक्ष पदमा सुराना र मुरारकाबीच नै प्रतिस्प्रर्धा चल्ने चर्चा चलिरहेको छ । यद्यपी उपाध्यक्ष नन्दकिशोर राठीले समेत अध्यक्षको दावी प्रस्तुत गरिरहेकाले ‘टिमसेट’ कसरी बन्छ भन्ने कुरा अझै टुङगिएको छैन ।

उद्योग संगठनमा अनुभव र हेलमेलका हिसाबले सुराना र राठीको नेतृत्वलाई नै धेरैले रुचाउने देखिएको छ । मुरारका सामाजिक सम्बन्धमा कमजोर रहेको कारण संगठनको मुल नेतृत्वकै जिम्मेवारी दिने विषय सोच्नुपर्ने तर्क गर्नेहरु समेत रहेका छन् । संगठनको नेतृत्वमा पुगेपछि सामाजिक प्राधिकारसँग जोडिने हुन्छ ।
उद्योग संगठनको अध्यक्ष चयनका लागि ५० औं साधारणसभा निक्कै सकसपूर्ण हुने अनुमान गरिएको छ । सर्वसम्मत नेतृत्व चयनको संभावना कम देखिएका कारण निर्वाचनबाट मात्रै अध्यक्ष निर्वाचित हुनसक्ने संभावना देखिएको छ ।

तीन जनामध्ये सुराना २०५४ सालदेखि आवद्ध रहेका छन् । उनले संगठनमा प्रवेशसँगै २०५४ सालमा कोशी महोत्सव सञ्चालन गर्ने भूमिका पाएका थिए । किशोर प्रधानको नेतृत्वकाल (२०६१ साल) देखि बोर्डमा रहेर सक्रिय सुराना उर्जामा जानकार छन् । उनले बिद्युतको समस्याले औद्योगिक क्षेत्र आक्रान्त हुँदा सरकारसँग सहजीकरणमा भूमिका निर्वाह गरेका थिए । सुरानालाई नरम लाइन उद्योगीको रुपमा चिनिन्छ ।
अर्का दावेदार मानिएका राठी सामाजिक रुपमा चिनिएका व्यक्ति हुन् । उनी नरम लाइनका छन् । उद्योगीसँगै उनी सामाजिक रुपमा सक्रिय रहेका छन् । यदि राठी र सुरानाबीच सहमति भएको अवस्थामा त्यो टिम बलियो हुने अनुमान गरिएको छ ।

मुरारका ८ वर्ष अघि दिनेश गोल्छा अध्यक्ष हुँदा संगठनको बोर्डमा प्रवेश पाएका थिए । उनलाई धेरैले सुपारीको कारोबारमा सेटिङ मास्टर भनेर चिन्ने गरेका छन् । सरकारका उच्च पदस्थसँग सम्बन्ध राख्ने र आफ्नो काम निकाल्ने कुरामा उनलाई कमैले मात्रै भेट्ने गरेका छन् । तर, संगठन र सामाजिक रुपमा उनको भूमिका भने कमजोर देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्