मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल : अर्थमन्त्री महत

मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल : अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल भएको बताउनु भएको छ । अर्थ मन्त्रालय राजश्व परामर्श समितिको आयोजनामा बिहीबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री महतले मौद्रिक नीतिमा सुधार ल्याएर अर्थतन्त्रको ट्रयाक फर्काउने बताउनु भएको हो ।

मौद्रिक निती खुकुलो बनाउन नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल भईरहेको बताउँदै अर्थमन्त्री महतले यसलाई चाँडै सुधारिने बताउनु भएको छ । बजारमा पूँजी परिचालन कमजोर हुँदा अर्थतन्त्र शिथिल देखिएपनि संकटग्रस्त बनेको भन्ने भनाई नकारात्मक टिप्पणी मात्रै रहेको अर्थमन्त्रीको भनाई थियो ।
अर्थतन्त्रको विषयलाई लिएर प्रधानमन्त्री समेत गम्भीर रहनु भएको बताउँदै अर्थमन्त्री महतले शिथिल देखिएको अहिलेको स्थिति धेरै परसम्म नजाने दावी गर्नुभयो ।

साधारण खर्चतर्फ भन्दा पूँजीगततर्फ कम देखिएको बजेटको अवस्थालाई आगामी बजेटले सम्बोधन गर्ने उहाँको दावी छ । पूर्वाधार क्षेत्रको निर्माणमा भईरहेको अहिलेको अवस्थालाई समेत केहि परिमार्जन गर्नुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो । ‘साईड क्लियरेन्स छैन ठेक्का लगाएर पाँचवर्षसम्म त्यसैमा अल्झिने बानी परेका छौं’ अर्थमन्त्री महतले भन्नुभयो–सार्वजानिक खरिद ऐन विपरित कतिपय ठेक्का अन्तिम त्रैमासिकमा लाग्ने गरेका छन् । उहाँले यस्तो स्थितिको सुधार गर्न नसक्दा पनि पूजी परिचालन कमजोर भएको बताउनुभयो ।

उहाँले अर्थतन्त्रको जग बलियो बनाउने भूमिका सरकारसँगै निजी क्षेत्रको समेत रहेकोले साझेदारीपूर्ण सम्बन्ध आवश्यक रहेको बताउनुभयो । करका दर बृद्धि गरेर मात्रै राजस्व संकलन हुन्छ भन्ने मान्यतामा सरकार नरहेको बताउँदै नीतिमा देखिएका कमिकमजोरी सच्याएर खर्चको सीमा बढाउने मान्यता स्थापित गरिनेमा जोड दिनुभयो । उहाँले सरकारलाई बारम्बार प्रश्न उठाउने निजी क्षेत्र पनि पारदर्शी हुनुपर्ने बताउँदै उहाँले अर्थतन्त्रको समग्र पक्षमा सबै सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।

नेगेटिभ सेन्टिमेन्ट हावी हुँदा पोजेटिम सेन्टिमेन्टलाई स्थापित गर्न नसकिने बताउँदै अर्थमन्त्री महतले केहि भएन भन्ने कुरालाई पश्रय नदिन उद्योगी–व्यवसायीसँग आग्रह गर्नुभयो । उहाँले आगामी बजेटले नकारात्मक भावनालाई सकारात्मक भावनामा बदल्नका लागि प्रयत्न गर्ने बताउनुभयो ।

अर्को एक प्रसङ्गमा अर्थमन्त्री महतले भारतको बथनाहा–विराटनगर १८.६ किलोमिटर रेल–वे अन्तर्गत विराटनगर–१८ को आईसीपीसम्म निर्माण सम्पन्न दुरीमा कार्गोरेल ल्याउन सरकारले पहल लिने बताउनुभयो । उद्योगीहरुको गुनासो सम्बोधन गर्दै उहाँले सरकारले गर्नुपर्ने पहल र त्यसले उद्योगीहरुलाई पुग्ने फाइदाको बारेमा अन्तर मन्त्रालय छलफल चलाएर निष्कर्ष निकाल्न लाग्ने बताउनुभयो ।

अर्थमन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले आय र खर्चको सन्तुलन तथा व्यवस्थापनमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले नितीगत रुपमा देखिएका त्रुटीलाई सच्याउँदै आन्तरिक अर्थतन्त्रलाई चलाउनमान बनाउन सरकारले बजेटमार्फत सम्बोधन गर्ने बताउनुभयो ।
अर्थविद् तथा आर्थिक सल्लाहाकार डा.पोषराज पाण्डेले निराशाजनक अवस्थालाई आसा जगाउन बजेटसम्म प्रतिक्षा गरिदिन उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्र प्रवद्र्धन गर्ने बजेट आउने दावी गर्दै संयमित भएर आफ्नो क्षेत्रबाट अर्थतन्त्र सुधार गर्न अनुरोध समेत गर्नुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले नीतिगत समस्या सिर्जना गरेर औद्योगिक क्षेत्रलाई असजिलो बनाउँदा त्यसको मार समग्र अर्थतन्त्रमा पर्ने बताउनु भएको थियो । उहाँले औद्योगिक क्षेत्र मूल्य अभिबृद्धिको मारमा परेको भन्दै सरकारले त्यसमा सुधार ल्याउने आसा व्यक्त गर्नुभयो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले नेपाल राष्ट्र बैंकको अटेरपनशैली अहिलेको अर्थतन्त्रको भागिदार भएको आरोप लगाउनुभयो । उद्योगलाई डुबाएर बैंकलाई उकास्ने नीति लिँदा एकवर्षको अवधीमै अर्थतन्त्रका समग्र सूचक नकारात्मक भएको उहाँको बुझाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्