विराटनगरमा स्टार्टअप नीति तर्जुमा संवाद

विराटनगरमा स्टार्टअप नीति तर्जुमा संवाद

विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका लागि बिहीबार विराटनगरमा सरोकारवालाहरुबीचको सम्वाद सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सम्वाद आयोजना गरिएको हो ।

प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्रदेशभरीका स्टार्टअपहरुको विवरण अध्यावधिक गर्ने, नीतिमा समावेश गर्ने कुराहरुको पहिचान गर्ने, लगानीको तौरतरिका र प्रविधिको प्रयोगबारे धारणा विकास गर्ने लगायतका बिषयमा सम्वाद गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौलाले नव उद्यमीहरुको व्यवसाय प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बताउनु भयो । सरकार र उद्यमीबीच राम्रो सम्बन्ध बनाएर अघि बढ्न आफु तयार गरेको मन्त्री सिटौलाले बताउनु भयो ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालमा स्टार्टअप कुनैपनि नयाँ आइडियाहरुलाई रोक्न नहुने बताउनु भयो । वहांले नयाँ नयाँ आइडियालाई सरकार र निजी क्षेत्रका विभिन्न क्षेत्रबाट सहयोग गर्दै अगाडि बढाउन सके त्यसबाट मुलुकमा नवप्रवद्र्धन सम्भव हुने बताउनु भयो ।अध्यक्ष राउतले विश्वमा स्टार्टअप संस्कृति धेरै पुरानो भए पनि नेपालमा भर्खर हुर्कदै गरेको र नवउद्यमीहरुको उद्यमशिलता प्रतिको चाख र आर्कषण उल्लेख्य मात्रामा बृद्धि पनि भइरहेको बताउनु भयो । अन्य मुलुकहरुमा सरकारले युवा उद्यमीलाई राष्ट्रिय अर्थतन्त्रको सवलीकरणमा केन्द्रीत गराउन उद्यमशील एवं उद्धमी स्टार्ट अप व्यवसायलाई प्रेरित गर्न सहयोगी नीति कार्यक्रम गरेकोले कोशी प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्नेमा जोड दिनु भयो ।

राउतले स्टार्टअप उद्यममा संलग्न उद्यमीहरुले सहजीकरण तथा नियमन सम्बन्धी कानूनको अभाव भोग्नु परेको, नियामक निकायबीच अन्यौलता रहेको, वित्तीय सहयोगको अभाव रहेको, लगानीकर्ताको न्यून उपस्थिति जस्ता समस्या झेल्दै आएको पनि जानकारी दिनु भयो ।
त्यसका साथै संघीय सरकारका विभिन्न निकाय र प्रदेश तथा स्थानीय तहले उद्यमीको नवप्रवर्तनकारी सोचलाई प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । उद्यमशिलताको क्षेत्रमा जोडिन चाहिरहेका स्टार्टअपहरुलाई चाहिने राम्रा प्रशिक्षक र मेन्टरको अझैपनि कमी रहेको, बैंक तथा वित्तीय संस्थामा हुने लामो र झन्झटिलो प्रकृया तथा कर्जाको लागि सम्पति धरौटी लगायतका चुनौति रहेको अध्यक्ष राउतले बताउनु भयो ।

कोशी प्रदेशको आर्थिक विकासमा स्टार्टअप क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले पूर्वाधार र इकोसिस्टमको उपलब्धता, च्यालेञ्ज फण्डको प्रत्याभूति, स्टार्टअप सम्र्वधन केन्द्र, प्रशिक्षक र गति प्रदायकको उपलब्धता र सक्रियता, सुविधाको उपलब्धता, तिनै तहका सरकारका योजना कार्यक्रम र बजेट बिचको सहकार्य बढ्दै जानुपर्नेमा उहांले जोड दिएका दिनु भएको थियो ।
सम्वाद कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाको अध्यक्षमा आयोजित कार्यक्रममा स्टार्टअप विज्ञहरु जीवन प्रकाश सिटौला र निरज खनालले नेपालमा स्टार्टअपको विकास, पृष्ठभूमि, स्टार्टअप नीतिमा प्रस्तावित व्यवस्थाहरुबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
उक्त प्रस्तुतिकरणमाथि युवा उद्यमी प्रतिक राउत, कृषि विज्ञ डा.राजेन्द्र उप्रेति, मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेल, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रकुमार साह, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, विकल्प द अल्टरनेटिभका बसन्त अधिकारी लगायतले स्टार्टअप क्षेत्रलाई अघि बढाउन सरकारले बनाउनु पर्ने नीतिमाथि सुझाव दिनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्