-नविन अभिलाषी
वषौँ पहिले एक प्रात:काल
तिम्रो सिरानी मूनी छोडेर एक टुक्रा कागज
सुटुक्क-म निस्किएको थिएँ ।
निस्किनु अघि
उघारी छोडेको थिएँ,
पूर्वीझ्यालको अर्ध-पारदर्शी पर्दा ।
नवजात सूर्यका भुवादार किरणले छोएर
व्यूझाइ दिओस् भनेर तिमीलाई ।
इलेक्ट्रिक जगको तातो पानीमा
घोलेर नेसक्याफेको ब्राउन धुलो - कप छोडि आएको थिएँ ।
कफिको मन्द सुगन्धले तिमी व्यूझिनुपर्ने ।
टेबलमा अलपत्र
लेख्दा लेख्दैको डायरी, क्याप खोलिराखेको पेन
र मुराकामीको पछिल्लो किताब
- सबै मिलाइ आएको थिएँ ।
ग्रीन कलरको तिम्रो ओनपीस
ह्याङ्गरमा झुण्ड्याइ आएको थिएँ ।
हिँडेको थिएँ म,
टेवलमुनी स्याण्डलको जोडि मिलाइ राखेर ।
तिम्रो सिरानी मुनी
मैले छोडेको त्यो एक टुक्रा कागज पढेर
तिमी मलाई भेट्न आउनुपर्ने ।
कम्तीमा, डाँकघरमा चिठ्ठी छोड्नुपर्ने ।
कुनै म्यागजिनमा
कथा, संस्मरण या एउटा कविता छपाउनुपर्ने,
केहि न केहि गर्नुपर्ने ।
हुन सक्छ भाग्यवस्,
तिमी यतिका वर्षसम्म पनि व्यूझिएकी छैनौ
र त्यो एक टुक्रा कागज तिमीलाई पढ्नै परेन ।।