-सुरज दाहाल
मोंटेग्यू र क्यापुलेट परिवारको विवाद ४ सय वर्ष देखि चलिरहेको छ। दुई परिवारको झगडा हो तर सकिने छैन सकिनु पनि हुदैन किनकि अर्को सेक्सपियर अब जन्मिने छैनन । त्यसो त जुलिएट भन्छिन् मोंटेग्यू हात हैन खुट्टा हैन पाखुरा हैन अनुहार हैन न कुनै भाग हो नाममा के छ र ? हामी जसलाई गुलाब भन्छौं कुनै पनि अन्य नामले पनि सुगन्ध मिठो हुनेछ।
नामको ४ सय वर्ष देखिको दु:खलाई चर्चा गरेर मात्रै सकिदैन वा सुरु नै मैले अलिकति ढिलो गरेको हुन सक्छु ! सोह्रौ शताब्दी भनेको ढिलो हो , धेरै पछाडिको कुरा हो , संसारमा धेरै रोमियो र जुलिएटको विछोड भै सकेको समयपछिको समय हो अथवा समय हैन।
त्यसो त गुल्जार साहेबले भनेका थिए "प्यार को प्यार ही रहने दो, कोई नाम ना दो" रोमियो र जुलिएट्को नाम अरु केहि भएर कहानी त्यहि भएको भए पनि सायद उति नै प्रसिद्ध हुने थिए।
नाममा के छैन ?
वेद गीता पुराण मुन्धुम धम्मपद जस्ता शब्द नाम नै त् हुन् सुन्ने बितिकै अपनत्व बोध हुने वा भक्ति भाव आउने !
दुर्योधनलाई उसको नाममा गर्व थिएन भने महाभारतको युद्ध हुने थियो ? शीशुपालले गरेको कृष्णको अपमान नामकै त थियो नि !
भिष्मले तीरहरूको मृत्युशैयाबाट कृष्णलाई विष्णु नारायण गोविन्द जस्ता अनेक नाम भनेपनि सखा भन्दा मुस्कान छोड्दै उनलाई यहि नामले सबैभन्दा खुसी बनाउने भनेका हैनन् र ? भगवान विष्णुका सहस्रनाम (१००० नाम) छैनन ?
त्यसो त भिष्म आफै नामका लागि बाचे र मरे हैनर ? फेरिपनि नाममा के छ र ? दश हजार वर्ष अगाडिको कुनै मानवको नाम याद छ कसैलाई ? हाम्रो आफ्नै प्रजाति होमोसेपियनको सृष्टिलाई आधार मान्ने हो भने पनि ३ लाख वर्ष त भयो मान्छे जन्मिन र मर्न सुरु गरेको !
फेरिपनि नाममा के छैन र ?
हिटलर जस्तो मानवताको अपराधीको नाम हिटलर चाहि हैन उसको सरनेम हो नेपाली बुझाईमा थर हो तर उसले उसको सरनेमलाई प्रोपगण्डा मार्फत प्रसिद्ध बनायो।
महात्मा गान्धीको नाम महात्मा गान्धी हैन फेरिपनि महात्मा गान्धी नामले अमर भए यो नाम मोहनदास कर्मचन्द गान्धीलाई महान कवि तथा दार्शनिक रविन्द्रनाथ टेगोरले सन् १९१५ मा दिए।
त्यसो त अरुलेनै नाम दिनुपर्छ र ? आचार्य रजनीश चन्द्र मोहन जैनले आफैलाई ओशो नाम दिए कतै ओसियनिक ( oceanic ) सामुन्द्रिक विशालताको प्रतिरुप भने त कतै ओशो जापानी शब्द हो जुन बुद्धिस्ट भिक्षुलाई सम्मानका साथ् दिइन्छ भने तर जता जे भने पनि १९७० पछि उनले आफ्ना भक्तलाई आचार्य रजनीश अथवा रजनीश नभनी ओशो भन्न आव्हान गरे।
सिद्धार्थ गौतमले बुद्ध हुन् कति दु:ख गर्नु भयो ? अथवा दु:खको कारण खोज्नु भयो ? दोना ब्राह्मणले ना देवता, आत्मा वा मनुष्य को हो भनेर सोध्दा म केहिपनि हैन बुद्ध हु भन्नु भयो। बुद्धलाई बुद्ध हुन पनि सजिलो भएन।
व्यक्ति वा ईश्वरको नाममा मात्रै दु:ख छ र ?
सप्तकोशीलाई सप्त हुन् कति बग्नु पर्यो कति लामो यात्रा गर्नुपर्यो त्यो तामाकोशीलाई थाहा होला तमोरलाई थाहा होला ! मैले कोशी हेरेर कोशीको अनुभूति त गर्न सक्दिन।
स्वामी प्रपन्नाचार्यको वेदमा के छ भन्ने पुस्तकमा वर्षौ अगाडि मैले पढेको याद छ सगरमाथालाई शंकरमाथा भनिन्थ्यो रे अर्थात शंकरको शिर स्वामी प्रपन्नाचार्यको दाबी वास्तविक कैलाश सगरमाथा हो भन्ने पनि थियो खैर स्वामी प्रपन्नाचार्यको महाप्रश्थान भैसकेको छ अब उहाँलाई भेटेर सोध्न पनि त उहाको नाम मात्रै बाकि छ। उहाको अर्को नाम चाहि काले राई थियो उहालाई स्वामी प्रपन्नाचार्य हुन् कति दुख भयो होला ?
तिब्बतीले चोमोलुंग्मा र हामीले सगरमाथा भन्ने हिमाललाई अंग्रेजले औपचारिक रुपमा सन् १८६५ मा माउण्ट एभरेस्ट नाम दिदा सम्म कति दु:ख पायो होला ? उचाईमा उभिन त्यो पनि संसारकै अग्लो भएर हजारौ वर्ष बस्न कहाँ सजिलो छ र सृष्टि त गिर्ने र गिराउनेहरुले ग्रस्त छ ! अनि अंग्रेजले राखेकै नाम अथवा सर जर्ज एभरेस्ट्कै नामले किन चिनिनु परेको होला ?
नामको दु:ख प्रकृति र इतिहासका घट्ना र धर्म शास्त्रमा मात्रै सिमित छ र ?
नामको दु:ख यतिमै सकिन्छ र ?
महिलाहरुले अहिले पनि विवाह गरे पछाडि आफ्नो सर नेम बदल्नु पर्छ भन्ने चलन छ बाध्यताले बदल्छन !
मानिसहरुले आफुलाई उपनामहरु दिई रहन्छन !
बाटा गल्ली र चोकहरुको नाम बदलिरहन्छ काष्ठमण्डप काठमाण्डु भए जस्तो !
राजमार्ग र उपराजमार्गहरुले शासक अनुसार नाम फेर्दै जान्छन।
बजारमा तपाई जसलाई ब्राण्ड भन्नु हुन्छ त्यो नामको संघर्ष हो तर तपाईको नामको दु:ख होला नामको सुख होला खुल्ला बजारमा तपाईले आफ्नै मात्रै नाम चलाउछु भन्न चाहि पाउनु हुन्।
बजारमा तपाई जुन वस्तु वा सेवालाई सबैभन्दा पहिला खोज्नु वा रोज्नु हुन्छ त्यो नाम नै हो चलेको नाम , नाम चलेको नाम हो !
नामको दु:ख र नामको सुख लाई पनी सायद मान्छेले केहि नाम नै दिएर जीवित होला ! बेनाम अनाम मान्छे पनि हुन्छ र ? यो प्रश्न पाठकलाई नै !!