डुब्दैछन् सहकारी, दौडदै बचतकर्ता

डुब्दैछन् सहकारी, दौडदै बचतकर्ता

प्रेम देवान
विराटनगर । विराटनगर महानगरपालिकाले नियम विपरित सञ्चालनमा रहेका १५ सहकारीको दर्ता खारेजी गरिदियो । वार्षिक प्रतिवेदन पेस नगर्ने, लेखा परीक्षण दुरुस्त नराख्ने सहकारीहरु खारेज गर्ने निर्णय गरिएको हो ।

नियमसंगत नभएका सहकारी खारेज गर्ने निर्णय भएपनि नियममा बाँधिएर पारदर्शिता नअपनाएका सहकारीले बचतकर्ता डुबाएका घटना दैनिक बाहिरीदैं छन् । अहिले सञ्चालित अधिकांश सहकारीमा पारदर्शिता नभए कै कारण डामाडोल जस्तै स्थितिमा पुगका छन् । सञ्चालकमा पारदर्शिता र इमान्दारिता जरुरी रहेपनि त्यस्तो नहुँदा समुदायमा आधारित रहेर वित्तीय कारोबार गर्दै आएका सहकारी बदनाम भएका छन् ।
सरकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकै कारण अधिकास डुम्ने खतरामा देखिएका छन् । बचतकर्ताले समयमै बचत फिर्ता पाउन सकेका छैनन् । सहकारीलाई आर्थिक मन्दीको प्रभाव परेको सञ्चालकले जवाफ दिने गरेका छन् ।

कुनै बेला सहकारी सस्था आर्थिक विपन्न परिवारको ऋण साथी थियो । सहज ऋण दिने र सहज रुपमा किस्तामा ऋण बुझाउने अवसर थियो । साना घरेलु उद्योगहरुलाई व्यावसाय संचालन गर्नको लागी एउटा पुलको काम सहकारीले गर्दै आएको थियो । किसानका लागि विश्वास दिएर उभिएको थियो ।

तर, पछिल्लो समय त्यही सहकारी संस्थाप्रति बचतकर्ताकै बुझाई र दृष्टिकोण फेरिएको छ । यसको कारण सञ्चालकहरुले त्यसको मर्म विपरित सञ्चालन गरेको देखिन्छ । शहरमा खोलिएका धेरै सहकारी डुबेका घटना बाहिरीदैं छन् । विराटनगरमा तुलसी बहुमुखी सहकारीले बचतकर्ताको ५० करोड डुबाएर अध्यक्षसहितका केहि सञ्चालक फरार छन् । केहि भने नियम मिचेको अभियोगमा कारागार चलान भएका छन् । विराटनगरकै अर्को अम्बे कोशी बचत तथा ऋण सहकारीले समेत बचतकर्ताको रकम फिर्ता नदिएको गुनासो बाहिर आएको छ ।
बचतकर्ता दैनिक रकम लिन जान्छन् । तर, सहकारीका सञ्चालक आर्थिक मन्दी देखाएर भागिरहेका छन् । विराटनगरमा नाम चलेका राम्रा सहकारीहरु डुबेका छन् । सहकारी मात्रै डुबेका छैनन् सर्वसाधारणलाई समेत डुबाएका छन् । सञ्चालकले व्यक्तिगत मनोमानीमा रकम परिचालन गर्दा सहकारीहरु डुबेको अहिलेसम्मको अध्ययनले देखाएको छ ।

विराटनगरको तुलसी सहकारीका सञ्चालक केदारनाथ शर्माले सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम आफ्नो निजी कम्पनीमा लगानी गरेको देखिएको छ । यस्तै अम्बे कोशी बचत तथा ऋण सहकारीले विराटनगरका बचतकर्ताको रकम इटहरीमा लगेर हेड अफिसले चुक्ता गर्नुपर्ने ठाउँमा प्रयोग गरेको पाइएको छ ।
विराटनगरका नाम चलेका तुलसी बहुमुखी सहकारी, रारा बचत तथा ऋण सहकारी, बागेश्वरी बचत, सिद्धार्थ, माछापुच्छ«े , अम्बे कोशी जस्ताले बचतकर्ताको सपना समेत डुबाएका छन् ।

विराटनगर महानगरपालिक भित्र १ सय ९३ बढी सहकारी संचालनमा छन् । तर भएका सबैले नियम पुरा गरेर भने चलाएका छैनन् । अधिकास सहकारीहरु झोलामा र घरमा सिमित छन् भने केही सटर र कतिपय भने नियमपुरा गरेर आफ्नै भवनमा संचालन छन् । विराटनगर महानगरपालिकाले सम्र्पकमा नआएका १५ वटा सहकारीको यहि कारण देखाउँदै खारेजी गरेको हो ।

‘एक ठाउँमा स्वीकृत लिएर सञ्चालन गरेको सहकारीले सेवा केन्द्र भन्दै अन्यत्र जिल्लामा गएर सञ्चालन गर्न पाइँदैन ।’ विराटनगर महानगरपालिका सहकारी शाखा प्रमख पृथ्वी कुमारी बस्नेतका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ७७ वटा सहकारी अनुगमन गरिएको छ । त्यसमध्ये ९ वटा सहकारी कारबाहीमा परेका छन् । अनुगमनको क्रममा दर्ता स्वीकृत लिएका मध्ये १९ वटा सहकारीको कार्यालय नभेटिएको र ती कार्यालयहरू अहिलेसम्म महानगरपालिकाको सम्पर्कमा पनि छैनन् ।

जिल्ला सहकारी संघ मोरङ एवं कोशीका अध्यक्ष डिल्ली पोखरेलले निरन्तर तीन वर्षसम्म वार्षिक लेखा परीक्षण प्रतिवेदन नबुझाउने सहकारी खारेजी गरिनु सहि निर्णय भएको बताएका छन् । सहकारी ऐन नियम अनुसार सञ्चालनमा रहेकालाई प्रोत्साहान र ‘दर्ता मात्र गरी निष्क्रिय रहेको सहकारीहरू खारेजी हुनुपर्ने अध्यक्ष पोखरेलको भनाई छ ।

यता महानगरकी उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको बताइन् । सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह पनि गरेको छ । आज धेरै बेरोजगार युवावर्ग रोजगार समेत दिएको छ । तर पछिल्लो समयको सहकारीको जर्जर अवस्थाले गर्दा कर्मचारी तलव पाउन समेत सकिरहेका छैनन् । बचतकर्ताको रकम फिर्ता दिने संभावना कमजोर बन्दै गएको छ ।

प्रदेश सहकारी रजिष्टार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्री उद्देश्य राम्रो तर सञ्चालकको मनोभावना नराम्रो हुँदा सहकारी क्षेत्र जोखिममा परेको बताउँछन् । उनले नियम विपरित सञ्चालनमा रहेका सहकारीले कानुनको परिधि भित्र राख्न नसके चुनौती बढ्दै जानसक्ने बताए । तर, सहकारी क्षेत्रको संरक्षण हुन नसके त्यसको निम्त्याउने खराब अवस्थाको सामना गर्न पनि उतिकै जोखिम रहेको खत्रीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्