विराटनगर । मोरङको दक्षिण भेगमा रहेको पर्यटकीय स्थल ‘कमल पोखरी’ बजेट अभावका कारण अलपत्र अवस्थामा रहको छ । सुनवर्षी नगरपालिका–१, स्थित केचना शुक्रबारेमा रहेको कमल पोखरीको संरक्षण नहुँदा दुबो उम्रिएर घाँसे मैदानमा परिणत भएको हो ।
सात बिघा ६ कठ्ठा १७ धुर क्षेत्रफलमा फैलिएको पोखरी पानीविहीन बनेको छ । किराँतीहरुको साकेला थान समेत रहेको कमल पोखरी संरक्षणमा चासो नहुँदा यसको स्वरुप मैदानमा परिणत भएको हो । मोरङ पथरीदेखि १३ किलोमिटर दक्षिण दुरीमा रहेको पोखरी आन्तरिक पर्यटन प्रवद्र्धनका हिसाबले संभावना बोकेको स्थानमा चिनिन्थ्यो । तर, अहिले पानी सुकेपछि त्यसको पहिचान गुम्द गएको छ ।
पोखरीको सौन्दर्यीकरणका लागि बजेट दिने भनेपछि सुकाईएको थियो । सुनवर्सी नगरपालिका १ का वडाध्यक्ष वीरबहादुर राईका अनुसार आउनु पर्ने बजेट आएन, पोखरी घाँसे मैदानमा रुपान्तरणभयो । अघिल्लो वर्ष पूर्व पर्यटन मन्त्री प्रेम आलेको कार्यकालमा ८० लाख बजेट विनियोजन भएको भनिएको थियो । तर कोभिडका कारण बजेट कटौती भएपछि सुकाएको पोखरीमा घाँस पलाएको छ ।